मीनभवनमा रामकुमारी झाँक्रीको खोजी, पार्टी कार्यालय उद्घाटनमा कहाँ गइन् झाँक्री?

मीनभवनमा रामकुमारी झाँक्रीको खोजी, पार्टी कार्यालय उद्घाटनमा कहाँ गइन् झाँक्री?

केन्द्रबिन्दु
0
Shares

मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए- हामी यहाँ छौं। 

भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे। केहीले खल्लो महसुस गरे। नेताको लहरमा अभाव झल्कियो, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको। 

पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो। तर कार्यकर्ताको इच्छाअनुसार उनी कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिइनन्। 

त्यसो भए किन उपस्थित भइनन् रामकुमारी झाँक्री ? 

पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उनलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो- झाँक्री दिदी किन आइनन् ?

एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडल जस्तै भइन्। गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताइन्। 

उनको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए। एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्काेथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे। जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित रहिन्।

कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो- उनी काठमाडौं बाहिर रहिछन्।

नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन्। तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेकी छन्। झाँक्रीले आफू पार्टी कामका लागि रूपन्देही रहेको बताइन्। ‘म पार्टी कामका लागि अहिले रूपन्देही भएका कारण पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनँ’, झाँक्रीले भनिन्।न्युज कारखाना

Skip This
Skip This
Logo