काठमाडौं । पोखरा रंगशालाको भौतिक निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको छ । करिब १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो ।
माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधिन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताए । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उनको भनाइ छ । स्टेडियमको पश्चिमतर्फ भिआइपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिलेसम्म पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले जानकारी दिए ।
त्यस्तै चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको उनले बताए । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणधिन अवस्थामा रहेको छ भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । साथै ब्रिक पाइप लाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।





























प्रतिक्रिया