सोमबार बिहान त्रिभुवन विमानस्थल काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको विमान प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा ल्याण्ड हुन सकेन।
विराटनगरमा ल्याण्ड हुन नसकेपछि विमान काठमाडौंमा आएर अवतरण गर्यो तर, अवतरण गर्नुअघि जहाजले काठमाडौंको आकाशमा १० पटकसम्म फन्को मार्यो।

यसरी काठमाडौंबाट उडान गरेको केही मिनेटमा विराटनगर ओर्लनुपर्ने यात्रुहरू दुई घन्टासम्म आकाशमै रहनु परेको थियो ।

अवतरण गर्नुभन्दा अघि काठमाडौंको कोटेश्वरबाट बुद्ध एयरको जहाजको ल्याण्डिङ गियर इन्डिकेटर एउटा तल अर्को माथि देखिएको थियो।

जहाजमा समस्या आए पनि अन्ततः सकुशल रूपमा काठमाडौंमा अवतरण गर्न सफल भएको छ।
‘सुरक्षामा शुन्य सहनशीलता’अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निर्णय गरेका थिए ।
![]()

काठमाडौंको आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिएको थियो ।
जसअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिकाअनुसार काठमाडौं विमानस्थलमा सुरक्षित साथ जहाजलाई ‘नर्मल’ अवतरण गराइयो।

उडिरहेको विमानभित्र सामान्य समस्या आउँदा पनि त्यसलाई निकै संवेदनशील मानिन्छ । एक–पटक जहाज ल्यान्ड गराउने प्रयास असफल हुँदा विमानमा सवार यात्रुहरू तथा एयरहोस्टेसहरूसमेत नर्भस भएका थिए ।

जहाजमा २ जना बालबालिका, ३ जना इन्फ्याण्ट गरी ७३ जना यात्रु रहेका थिए । जहाजका क्याप्टेन आङगेलु शेर्पाले संयमता अपनाउँदै आफूसहित ७३ जनाको ज्यान बचाउन सफल भए ।


तस्विरः उत्सव वाग्ले, अनिस मिजार































प्रतिक्रिया