जय नेपाल ! हामी धेरैले सुनेको शब्द हो यो। व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ। यो शब्द राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भइरहेको छ।
नेपाल प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल, शब्द प्रयोग गरेको छ। यस्तै राजनैतिकरुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरूले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ। अझ भनौं कसैले जय नेपाल भन्यो भने कि त्यो प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ।
विदेशमा जय नेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ। खासमा यो वाक्य कसरी प्रयोगमा आयो, कसले प्रयोगमा ल्यायो भन्ने बारे हामीले एक सामग्री बनाएका छौँ। आजको नलेखिएको समाचार शृंखलामा जय नेपाल वाक्य कसरी प्रयोगमा आयो प्रस्तुत गरेका छौं।
गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ। तर त्यसको आधिकारिक प्रमाण रेकर्ड पाइँदैन।
नेपालमा राणा शासन छँदाकै कुरा हो। भारतमा अंग्रेजहरूको उपनिवेशीक शासन थियो। त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरू आपसमा जय हिन्द भनेर सम्वोधन गर्थे।
बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत धेरै नेपाली युवाहरू भारतीय स्वतन्त्रता आन्दोलनमा सकृयरुपमा सहभागी थिए। भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिँदैन भन्ने उनीहरूको बुझाई थियो।
कसैले जय नेपाल भन्यो भने कि त्यो प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ।
भारत स्वतन्त्र हुने करिब करिब तय भएपछि नेपालमा राजनीतिक दलहरू खुल्न थाले। नेपाली कांग्रेसका नेताहरूबीच जय नेपाल भनेर सम्वोधन गर्ने चलन त्यही बेला सुरु भएको हो।
त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो। काठमाडौंलाई मात्र नेपाल भन्ने चलन थियो। पछिसम्म पनि त्यो चलन रह्यो। हामीभन्दा अघिको पुस्ताले काठमाडौंलाई नेपाल नै भनेको सुनेका हौँ।
नेपाली कांग्रेसमा खासगरी बीपीलाई के लाग्यो भने नेपाल उपत्यकालाई काठमाण्डौं र मेचीदेखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनु पर्छ। २००७ सालको क्रान्तिदेखि त्यसलाई आन्दोलनकै रुपमा अघि बढाइयो । मुक्ति सेनाका जवानहरूबीच भेट्दा र छुट्टिँदा जय नेपाल भन्ने चलन शुरु भयो। त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ।
२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरू नेपाल प्रहरीमा समाहित भए। प्रहरीको उच्चपद आईजीपी पनि भए। जसमा जीबी याकथुम्वा, पूरणसिंह खवास, रोमबहादुर थापा र डीबी लामालगायत थिए।
त्यसैगरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । किनभने नेपाली कांग्रेसले क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण शुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो। त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण शुरु गर्दा जय नेपाल भनेर प्रशारण सुरु गर्छ।































प्रतिक्रिया