सुनकोशी २ खारेजीको माग गर्दै माझी समुदायको विरोध प्रदर्शन

सुनकोशी २ खारेजीको माग गर्दै माझी समुदायको विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

जलासययुक्त सुनकोसी २ आयोजना खारेजीको माग गर्दै बिहीबार रामेछापका माझी समुदायले प्रदर्शन गरेका छन् । नेपाल माझी उत्थान संघ र संघर्ष समितिको अगुवाईमा जिल्ला सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको हो ।

जिल्लाका विभिन्न ठाउँबाट भेला भएका माझीहरुले जातीय पहिचान जोडिएकोले सुनकोसी २ आयोजना निर्माण नगर्न माग गरे । सुनकोसी नदीमा बाँधसहितका आयोजना निर्माण गर्दा आदिवासी माझीको संस्कृति, पहिचान र बस्ती नै विलय हुने उनीहरुको भनाइ छ ।

आदिवासी माझी समुदायको पहिचानलाई नै समाप्त पार्ने, घर जग्गा जमिन र आयआर्जनबाट विस्थापित गराउने सुनकोसी २ आयोजना खारेजीको एक मात्र माग रहेको वाग्मती प्रदेश सभाकी सांसद रीता माझीले बताइन् । ‘हाम्रो धर्म, संस्कृति र जातीय पहिचान नदीसँग जोडिएकोले त्यसलाई सरकारले अर्बौंमा पनि खरिद गर्न सक्दैन’, माझीले भनिन्, ‘त्यसैले सुनकोसी आयोजनाले जतिनै पैसा दिएपनि हामी निर्माण गर्न नदिने अडानमा छौं ।’

बिहीबारको प्रदर्शनमा मादल बजाउँदै डुंगा, माछा अंकित व्यानरसहित सेतो फेटामा आएका माझीहरुले प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी र मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझेपछि बस्नेतले आदिवासी माझी समुदाय र जिल्ला सदरमुकामकै भविष्य अन्योल बनाउने आयोजनाका विषयमा स्थानीय सरकार गम्भीर रहेको बताए । कार्यक्रममा नेपाल माझी उत्थान संघ, केन्द्रीय समिति, नेपाल माझी महिला उत्थान संघ, केन्द्रीय समितिहरुले ऐक्यवद्धता जनाएका छन् भने विभिन्न राजनीतिक दलहरुले समेत ऐक्यवद्धता जनाइएको बताइएको छ ।

विद्युत् विकास विभागले सिन्धुली र रामेछापका बीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९७८ मेघावाट क्षमताको आयोजना अघि बढाएपछि उनीहरूले विरोध प्रदर्शण गरेका हुन् । 

Skip This
Skip This
Logo