राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भक्तपुरले पुतलीबजार नगरपालिकामाथि ८–१ फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।
भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गोल गरिन । यस्तै मनीषा बास्कोटा र शिम्रन बस्नेतले दुई/दुई गोल गरे । अजिता घर्तिमगरले एक आफ्नो नाममा लेखाइन । पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फकाईन ।
यस जितसँगै समूह सी को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ । ३१ टोलीले प्रतिस्पर्धा गरिहरेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतियोगितामा भोलि तीन खेल हुनेछन् । पहिलो खेल गैँडाकोट र हेटौँडा एसएमसी, दोस्रो खेल गोदावरी र पोखरा तथा अन्तिम खेल धनकुटा र धनगढीबीच हुनेछ ।
फाइल तस्बिर































प्रतिक्रिया