मुटुरोगी पार्वतीको पीडा: ‘६ लाख कहाँबाट ल्याउनु?, सात छोराछोरी टुहुरा हाेलान् जस्ताे छ’

मुटुरोगी पार्वतीको पीडा: ‘६ लाख कहाँबाट ल्याउनु?, सात छोराछोरी टुहुरा हाेलान् जस्ताे छ’

केन्द्रबिन्दु
0
Shares

पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीया पार्वती ठगुन्ना एक वर्षदेखि मुटुरोगबाट पीडित छिन्। गंगालाल हृदयरोग केन्द्र काठमाडौंका अनुसार पार्वतीको मुटुको तीन वटा भल्ब फेर्नु पर्छ। यसका लागि करिब ६ लाख रुपैयाँ र चार जना रक्तदाता ल्याउन अस्पतालले भनेको छ। तर उनीसँग न रगत दिने मान्छे नै छन्, न अस्पतालले भने जति पैसा नै छ। उनी पाँच हजार रुपैयाँ बोकेर मुटुको अप्रेशन गर्न बैतडीबाट काठमाडाैंतर्फ लागेकी छिन्। यो पैसाले उनी काठमाडौंसम्म पुग्ने टिकट पनि पाउँदिनन्। 

उनीसँगै पति जनक पनि छन्। ६४ बर्षीय जनकको पनि मुटुमा समस्या छ। गाउँघरमा सिलाई पेशा गरिरहेका जनक दम्पतिका ६ छोरी र ६ बर्षका एक छोरा छन्। सिलाईको आम्दानीले परिवार पाल्नै मुस्किल छ अब उपचारका लागि आवश्यक ६ लाख कहाँबाट जुटाउने ? 

१३ लाख ऋण 
जनक–पार्वती दम्पतिले हालसम्म उपचारमा निकै नै खर्च गरिसकेका छन्। भएभरको खेतबारी बेचिसकेका छन् भने थप १३ लाख ५० हजार ऋण लागेको छ। जनकले भने, ‘श्रीमतीलाई बैतडी, डडेल्धुरा, धनगढीदेखि काठमाडौंसम्मका धेरै अस्पतालमा पुर्याए , उपचार खर्च होटलको बसाइ, यातायात खर्च गरेर लाखौं खर्च भैसकेको छ। अझ अप्रेशन खर्च ६ लाख लाग्छ भनेको छ।’ 

उनीहरूको काठमाडौंमा कोही आफन्त छैनन्। कहाँ बस्ने के खाने ? भगवान भरोसेमा काठमाडौं जान लागेको उनीहरू बताउँछन्। सांग्रीला बैंकबाट ६ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीन लाख र गाउँघरबाट चार लाख ५० हजार ऋण निकालेको उनले बताए। 

मुटुरोग पीडित पार्वतीले भक्कानिदै भनिन् ‘मलाई बाँच्ने आशा निकै कम छ। घरमा १२ बर्षदेखि २० बर्षसम्मका ६ छोरी छन्। ६ बर्षको एक छोरा छ। दुबै बुढाबुढी बिरामी छौं। सात छोराछोरी टुहुरा भए भने कसले हुर्काइदेला? रातदिन रोएरै बिताउँछौं। आफू मुटुको बिरामी छु, काम केहीँ गर्न सक्दिनँ।’

गत ०७७ माघमा पार्वती बिरामी परेर १५ दिन थला परिन्। उनलाई स्थानीय मेडिकल र जिल्लाका पोलिक्लिनिकहरूमा लगियो। पछि जिल्ला अस्पताल हुँदै डडेल्धुरा अस्पताल, धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याएको पति जनकले बताए। अन्तमा काठमाडौं लगेपछि रोग पत्ता लागेर उपचार सुुरु भयो। 

अहिले पनि उनको शरीर झम्झमाउने, हिँडडुल गर्न नसक्ने, धेरैबेर उभिन नसक्ने, शरीर दुखिरहने, सास फेर्न गाह्रो हुने, हातखुट्टा सुनिने गर्छ। उपचार गरौं पैसा छैन्, लाखौँ ऋण लागिसक्यो, उपचार नगरू छोराछोरी कसले पालिदेला ? उनीहरूकै चिन्ता छ।’ पार्वतीले भनिन्, ‘छोरा १५ बर्षसम्मको भइदिएको भए केही आशा हुन्थ्यो अब के गरू ? कोही सहयोग गर्ने भैदिए बाच्थेँ की।’

मुटुरोगी पार्वतीको परिवारलाई पाटन नगरपालिकाले १५ हजार सहयोग गरेको छ। विपन्नताका कारण एक लाख रुपैयाँ उपचार शुल्कमा छुट गरिदिन सिफारिस गरेको पाटन–५ का वडा अध्यक्ष फुनिसिंह बोहराले बताए।न्युज कारखाना

Skip This
Skip This
Logo