‘यो संविधान हाम्रो पक्षमा छैन, म सधैं सन्तुलित संविधानको माग गरिरहेको छु’: महन्थ ठाकुर

‘यो संविधान हाम्रो पक्षमा छैन, म सधैं सन्तुलित संविधानको माग गरिरहेको छु’: महन्थ ठाकुर

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश शिक्षा, विकास र स्वास्थ्यमा पछाडी परेको बताएका छन्। सर्लाहीस्थित बरहथवामा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीलाई संविधानले न्याय नदिएको बताएका छन्। 

'यो संविधान हाम्रो पक्षमा छैन, म सधैं सन्तुलित संविधानको माग गरिरहेको छु,' उनले भने। उनले आउँदो निर्वाचनमा मधेशी जनतालाई आफ्नो भोट मधेशको पक्षमा दिन आग्रह गरेका छन्। 

'हामी हनुमान हौं। किनकी हामीलाई हाम्रो शक्तिको महसुस छैन,' उनले भने, 'अब हाम्रो भोट हाम्रै लागि प्रयोग हुनुपर्छ।' उनले विशेषत नागरिकताको समस्यामा सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन्। 

सोही कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनता नयाँ आन्दोलनको लागि तयार भएर बस्न भनेका छन्। 'अब कांग्रेस र कम्युनिष्टलाई भोट गरेर हाम्रो समस्याको समाधान हुँदैन,' उनले भने, 'अब हामी अन्तिम संघर्षको लागि तयार हुनुको विकल्प छैन।' उनले मधेशीसँगै आदिवासी, दलित, जनजाती, थारुलाई आफ्नो हक अधिकारको लागि आन्दोलनका लागि तयार रहन आग्रह गरे। 

'अब देशमा अन्तिम लडाईं अर्थात् आन्दोलन गर्ने समय आइसकेको छ,' नेता महतोले भने । उनले मधेश आन्दोलनको बेला जेल परेकाहरू अझै केही जेलमै रहेको गुनासो गर्दै सरकारले नियतवस नछोडेको आरोपसमेत लगाए। 

'राजनीतिक मुद्दामा आन्दोलन भयो तर हाम्रो दाजुभाइ अझै जेलमा हुनुहुन्छ,' उनले भने । उक्त कार्यक्रममा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँगै पूर्व मन्त्रीहरू अनिल झा, चन्दा चौधरी लगायतको उपस्थिति रहेको थियो।न्युज कारखाना 

Logo