महिला लिग फुटबल : नेपाल पुलिस विराटनगर महानगरपालिकासँग स्तब्ध

महिला लिग फुटबल : नेपाल पुलिस विराटनगर महानगरपालिकासँग स्तब्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जीत निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेटमा पार्वती घलेको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिमसम्म कायम राखेर खेल पस्किंदा जारी लिगमा तेस्रो जीत निकाल्न सफल भएको हो । पुलिसले पछि परेको अवस्थामा एक पछि अर्को काउन्टर गरे पनि विराटनगर महानगरपालिकाको रक्षापंक्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेटतिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो ।

महिला लिग अन्तर्गत बुधबारै सम्पन्न भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले तालिकामा अंक विहिन चौदण्डीगढी नगरपालिकामाथि १२–० को फराकिलो जीत निकाल्यो ।

शर्मिला थापाको ह्याट्रिकसहित पाँच गोलको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध फराकिलो जीत निकालेको हो । शर्मिलाले पहिलो हाफमा नै ह्याट्रिकसँगै पाँच गोल गरेकी थिइन् । ६ मिनेटमा गोलको खाता खोलेकी शर्मिलाले १२, २३, २९ र ३६ औं मिनेटमा गोल गरेकी थिइन् । फराकिलो जीत निकाल्दा सपना लामाले दुई गोल थप्दा अञ्जली वाइवा, हेमा चौधरी, विमला चौधरी, रश्मी घिसिङ र विमला विकले एक÷एक गोल गरेका थिए ।

जीतपछि आर्मीको पहिलो चरणको खेलबाट १३ अंक भएको छ । आर्मी दोस्रो स्थानमा यथावत रहँदा पराजित चौदण्डीगढी पुछारमा छ । चौदण्डीगढीको लगातार छैटौं हार हो ।

पहिलो चरणको समाप्तिसँगै एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा अटाउँदा १३ अंक जोडेको आर्मी दोस्रा, १० अंक जोडेको विराटनगर तेस्रो स्थानमा छन् । यस्तै समान ८ अंक जोडेका पुलिस र वालिङ क्रमशः चौथो र पाँचौ स्थानमा रहँदा ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहिन चौदण्डीगढी पुछारमा रहेका छन् । महिला लिगमा दोस्रो चरणका खेल आगामी शुक्रबारबाट हुनेछन् ।

 

Skip This
Skip This
Logo