नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीका कारण न्यायालय समस्या देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानन्यायाधीशविरुद्धमा महाअभियोग प्रस्तावको विषयमा कुनै छलफल नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीका बोलीका कारण न्यायालयमा विवाद उत्पन्न भएको उनको भनाइ थियो । ९ कात्तिकमा ओलीले एमाले पालिका अधिवेशनको उद्घाटनमा पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए । संसद् विगठनको विरुद्धमा लाग्ने न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
'ओलीले जे पायो त्यही बोलिरहनु भएको छ, त्यो उहाँको कुण्ठा बोलेको हो', अध्यक्ष नेपालले भने, 'अग्रगमनकारीलाई खेदो खन्ने उहाँको पहिलै देखीको बानी हो ।'
ओलीका कारण प्रदेश सरकारहरू ढलेको उनले बताएका छन् । ओलीले आफू प्रधानमन्त्री नभए कुर्सी भाँचिदिन्छु भनेको बताउँदै त्यसको प्रभाव सबै प्रदेशमा परेको नेपालको भनाइ थियो । भीम आचार्य नेतृत्वको सरकारलाई हटाएर चाडै राजेन्द्र राई नेतृत्वमा सरकार बन्ने ऊनको दाबी छ ।
कांग्रेससँग तपाइँहरूको आधा आधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले अहिले नै छलफल नभएको बताए । कांग्रेसलाई मुख्यमन्त्री आधा कार्यकाल नदिए गठबन्धन टुट्ने देखियो नि भन्ने अर्को प्रश्नमा उनले कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।































प्रतिक्रिया