भेट्रान्स कपमा छाएका ‘जुमानु राई’

भेट्रान्स कपमा छाएका ‘जुमानु राई’

केन्द्रबिन्दु
0
Shares

घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए जुमानु राईले। जुन गोलका कारण हजारौं संख्यामा प्यारापिटमा उत्रिएका समर्थकको चिच्चाहटले काठमाडाैँ उपत्यका नै गुञ्जायमान भएको आभास गराएकाे थियो। 

नेपाल सधैँ भारतविरुद्ध जीत निकाल्ने योजनामा हुन्छ। तर, भारतविरुद्धको इतिहास भने राम्रो छैन। भारत भन्ने बित्तिकै खेलाडीदेखि लिएर समर्थकमा समेत राष्ट्रिय भावना उत्पन्न हुन्छ। भारतविरुद्धको दोस्रो गोल, त्यो पनि घरेलु मैदानमा। गोलका कारण मैदानमा उपस्थित दर्शकले रमाइलो नगर्ने कुरै भएन। जुमानुको ‘सेलेब्रेशन’ समेत त्यस्तै थियो। 

व्यवसायिक क्लबमा समेत सहकर्मी रहेका रविन श्रेष्ठले बायाँ विंग्सबाट क्रस गरेको बललाई जुमानुले दोस्रो बारमा उत्कृष्ट फिनिस गरे। सन् २०१३ को सेप्टेम्बरमा भारतविरुद्ध गोल गर्दा ताका जुमानु आफ्नो खेल जीवनीको मुख्य लयमा थिए। 

यही समय तिर हो अग्रपंक्तिमा जुमानुलाई रोक्नु मुस्किलको कुरा थियो। विपक्षीलाई आफ्नो ‘बक्स’मा जुमानुलाई रोक्न धौधौ पर्ने गर्थ्याे, चाहे अन्तर्राष्ट्रिय खेल होस् या घरेलु प्रतियोगिता नै। 

समय फेरियो, जमाना फेरियो। उमेर बढ्दै गयो। तर, प्रतियोगिताको स्तर फेरिए पनि जुमानुको खेल स्तर भने फेरिएको छैन। काठमाडौंमा जारी पहिलो संस्करणको भेट्रान्स कपमा जुमानुले उही आफ्नो पुरानो रफ्तार दिइरहेका छन्। 

‘फुटबर्स मिसन टुगेदर्स’को आयोजनामा जारी भेट्रान्स कपमा जुमानु प्रेरित ‘एफडी खुमलटार’ फाइनल प्रवेश गरेको छ। फाइनलसम्मको यात्रा तय गर्दा खुमलटारले चार खेल खेल्दा जुमानु एक्लैले तीन गोल गरेका छन्। 

भेट्रान्स कपमा समेत विपक्षीको टाउको दुखाइको विषय बनेका छन् जुमानु। फाइनल उपाधिका लागि जुमनुको खुमलटारले झापा भेट्रान्स एफसीको सामना गर्नेछ। 

प्रतियोगितामा ३५ वर्षका तीन खेलाडीले एक क्लबबाट खेल्न पाउने नियम छ। आफू नियमित खेलिरहेको विभाग नखेलेपछि जुमानुले आफ्नो १५/१६ वर्षदेखि सँगै खेलिरहेका दाजुभाइ (अग्रजअनुज)हरूसँग मिलेर खेल्ने निर्णय गरे। जहाँ जुमानु सफल भएका छन्। 

‘हाम्रो विभाग (पुलिस क्लब क्लब)ले सहभागिता नजनाएपछि मैले अग्रजहरूसँग मिलेर खेल्ने निर्णय लिएँ’, जुमानु भन्छन्। जुमानुले बाल्यकालदेखि नै आफूलाई सहयोग गर्दै आइरहेका अग्रजहरूले क्लब स्थापना गरेर खेल्ने बताएपछि अन्य क्लब जाने सोचाइ नै बदले। 

ठमेलमा रहँदै आएका नरेन्द्र लामा, कन्चन गुरुङ, मनि गुरुङ, प्रशिद्ध किरात र चेन्जिङ लामासँग सहकार्य गर्दै जुमनु खुमलटारबाट खेल्न तयार भए। यसपछि उनले अन्य क्लब रोज्न चाहेनन्। राम्रो ‘अफर’ समेत जुमनुलाई नआएको हैन। तर, जुमनु पैसामा भन्दा पनि साथी र अग्रजहरूको खुसीकै लागि क्लब स्थापना गरी भेट्रान्स कप खेल्न तयार भए। 

‘अन्य क्लबबाट राम्रो प्रस्ताव आएको थियो। नचिनेका दाइहरुले यति दिन्छौं भन्दै ठूलाठूला प्रस्ताव नल्याएका हैनन्। खेल्न आइज भन्थे। तर, विभाग (नेपाल पुलिस) नखेल्ने भएपछि १५/१६ वर्षदेखि सम्बन्ध रहेका दाइहरूसँग खेल्ने निर्णय लिएँ। एक प्रकारले यो आफ्नै टिम पनि हो’, जुमानु भन्छन्।  

जारी लिगमा जुमानुले पहिलो खेलमा ललितपुरविरुद्ध दुई गोल गरेका थिए भने सेमिफाइनलमा सानो गौचरण नाइट किंग्स क्लब (एसएनकेसी)विरुद्ध एक गोल गरेका थिए। सबैको अनुमान थियो, सानो गौचरण सहजै फाइनल पुग्नेछ। तर, त्यसलाई सिद्ध हुन दिएनन् उनै जुमानुले। 

एसएनकेसीविरुद्ध जुमानुको फिनिसिङ निकै नै उत्कृष्ट रह्यो। मैदानको बायाँ विंग्समा बल भेट्टाएका जुमानुले १८ यार्डभित्र बल पुर्‍याउँदै तीन डिफेण्डरलाई बिट गरेर राम्रो फिनिस गरे। जुमानुको गोलसँगै खेलको सात मिनेटमै खुमलटारले २-० को अग्रता बनायो। र यही अग्रता जोगाउँदै फाइनलमा स्थान बनायो। 

अब, फाइनल भोलि (मंगलबार) हुनेछ। जुमानुको योजना झापालाई हराउँदै उपाधि चुम्ने रहेको छ। त्यो पनि आफ्नै गोलमा।

‘फाइनलसम्म सबैको मेहनत उत्तिकै छ। प्रतियोगिता एकदमै राम्रो भयो। सबैको मेहनतले यहाँ आइपुगेका छौँ। अब, फाइनलमा समेत यही मेहनतले सफल हुने योजना छ। फाइनल खेल्न उत्साहित छौँ। जित्नकै लागि खेल्छौं’, जुमनुले भने। 

जुमानु नेपाल राष्ट्रिय फुटबल टोलीको सुखद् विदाइकाे पर्खाइमा समेत छन्। सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गरेका जुमानु सन् २०१५ भारतविरुद्ध अन्तिम खेल खेलेपछि टोलीबाहिर छन्। जुमानुले राष्ट्रिय टोलीबाट ११ गोलसमेत गरेका छन्। 

पुरुष फुटबलमा जुमानुको ११ गोल सर्वाधिक तीनभित्र पर्ने गर्छ। निराजन रायमाझी र हरि खड्का (समान १३ गोल ) पछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी जुमानु हुन्। 

पछिल्लो साल विभागबाट शान्ति सेनामा लागेपछि जुमानु राष्ट्रिय टोली बाहिर छन्। उनी चाहन्छन् एन्फाबाट एउटा सुखद् विदाइ। 

भेट्रान्स कपमा छाएका जुमानु अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिकबाट आयोजना गर्ने शहिद स्मारक ए डिभिजन लिगको तयारीमा समेत छन्। 

प्रहरी नायव निरीक्षक (सई) रहेका जुमानु नेपाल पुलिस क्लबको कप्तानसमेत हुन्। ३७ वर्षीय यी खेलाडी आगामी लिगमा समेत उही प्रदर्शन दिने योजनामा छन्। गत सिजन अन्तिम खेलमा जुमानुले फ्रेण्ड्सविरुद्ध ह्याट्रिक गर्दै पुलिसलाई शीर्ष ६ मा राख्दै राष्ट्रिय लिगको लागि छनोट गराएका थिए। 

‘लिग खेल्ने योजनासहित तयारी गरिरहको छु। लिगको तयारीले नै भेट्रान्स खेल्न सहज भइरहेको छ। पुलिस टिम पहिलेभन्दा पनि राम्रो भएको छ। यस पटक लिगमा झनै राम्रो गर्छौं’, उनले भने।न्युज कारखाना

Skip This
Skip This
Logo