‘मेरो आनन्दको स्रोत म स्वयं हुँ’: सदगुरु

‘मेरो आनन्दको स्रोत म स्वयं हुँ’: सदगुरु

केन्द्रबिन्दु
0
Shares

आज संसारमा अधिकांश मानिसहरू, विशेषगरी युवापुस्ताहरूमा अध्यात्मप्रति एक प्रकारको एलर्जी रहेको पाइन्छ। यो किन भएको हो भने, आध्यात्मिकतालाई त्यस हदसम्म कुरूपरूपमा प्रस्तुत गरिएको छ। मानिसहरूले अध्यात्म भनेको राम्रोसँग नखानु, सडकको छेउमा बसेर भिख माग्नु भन्ने बुझेका छन्। मानिसहरूको बुझाइमा आध्यात्मिकता भनेको दारूण जीवन बाँच्नु, आफैँलाई यातना दिनु अनि सर्वोपरि जीवन–विरोधी हुनु—जे गरेर हुन्छ, जीवनको आनन्द नलिनु अनि सम्भव भएसम्म हरेक तरिकाबाट पीडित बन्नु भन्ने रहेको छ।

तपाईंको बाहिरी परिस्थितिसँग आध्यात्मिकताको कुनै सरोकार हुँदैन। तपाईं चाहे झुपडीमा बस्नुहोस् वा महलमा, तपाईं आध्यात्मिक हुन सक्नुहुन्छ। झुपडीमा बस्ने वा महलमा बस्ने कुरा तपाईंको रोजाइ हुन सक्छ अथवा सामाजिक र आर्थिक विवशता हुन सक्दछ। तपाईं आध्यात्मिक हुने कुरासित यसको कुनै सम्बन्ध हुँदैन।

आध्यात्मिक हुनु भनेको अनुभवजन्य स्तरमा यो जान्नु हो कि "मेरो आनन्दको स्रोत म स्वयं हुँ"। यतिखेर, तपाईं यो विश्वास गरिरहनु भएको छ कि तपाईंको आनन्दको स्रोत कुनै वस्तु वा कोही व्यक्ति हो, त्यसैले तपाईं सधैँ तीबाट निर्देशित र निर्धारित रहनुहुन्छ। यदि तपाईंमा आफ्नो आनन्दको स्रोत आफू स्वयं हुँ भन्ने कुराको बोध र अनुभव भयो भने, के तपाईं जतिबेला पनि आनन्दित रहनुहुन्न थियो र ? यो कुनै विकल्प समेत होइन।

वास्तवमा, मूल जीवन नै आनन्दित हुन खोजिरहेको हुन्छ। यसो तपाईं आफ्नो जीवनलाई नियाल्नु होस्—तपाईं आफूलाई शिक्षित बनाउनु हुन्छ, तपाईं पैसा कमाउन चाहनुहुन्छ, तपाईं घर, परिवार, बच्चाहरू निर्माण गर्न चाहनुहुन्छ—यी सबैथोक तपाईं यसकारण चाहनुहुन्छ, किनकि यिनले कुनै न कुनै दिन आनन्द प्रदान गर्लान् भन्ने आशा लिएर बाँच्नुभएको छ। तर यतिखेर, तपाईंले थुप्रै चीजहरूको चाङ लगाउनु भएको छ, अनि एउटै कुरा बिर्सिइएको छ—त्यो हो आनन्द ।

मानिसहरू किन दुःखी भएका छन् भने, उनीहरूमा जीवन के हो भन्ने बारेमा निकै गहिरो गलत बुझाइ रहेको छ। "हैन ! तर, मेरा श्रीमान्, मरी श्रीमति, मेरी सासू…" ठिक छ, सबैजना छन्, तर तपाईं स्वयं दुःखी हुन रोज्नुहुन्छ, किनकि तपाईंले दुःख–पीडामा लगानी गर्नुभएको छ। तपाईं यो सोच्नुहुन्छ कि दुःखी भयो भने, तपाईंले केही पाउनुहुनेछ। उदाहरणको लागि, तपाईंको परिवारमा कुनै सदस्यले यस्तो काम गर्छन्, जुन तपाईं उसले नगरिदियोस् भन्ने चाहनुहुन्छ। तब, तपाईं आफैँलाई दुःखी बनाउनु हुन्छ अनि केही नतिजा निस्किएला कि भन्ने आशामा उदास अनुहार लिएर हिँड्नुहुन्छ। केही पाउने नियतले तपाईं आफैँलाई दुःखी बनाउन इच्छुक हुनुहुन्छ।

एकपटक जब तपाईं दुःखी बन्नुहुन्छ, तब तपाईंको हातमा स्वर्ग नै भएपनि त्यसको के अर्थ ? तर, यदि तपाईं आनन्दित व्यक्ति हुनुहुन्छ भने, तपाईंको हातमा केही पनि छैन भनेपनि के नै फरक पर्छ र ? यदि तपाईं साँच्चिकै आनन्दित हुनुहुन्छ भने, तपाईंसँग के छ वा के छैन, तपाईसँग को को छन् वा को को छैनन् भन्ने कुराले अर्थ राख्छ र? कृपया यसलाई मनन गर्नुहोस्: यसलाई वा त्यसलाई आफ्नो बनाउनको निम्ति तपाईंमा जुन इच्छा र चाहना हुन्छ, हेरचाह र मायाको जुन भाव हुन्छ, यो किन हुन्छ भने, तपाईंमा त्यसबाट आनन्द प्राप्त हुनेछ भन्ने अपेक्षा रहेको हुन्छ।

मानिसहरू सधैँ मलाई यो प्रश्न सोध्ने गर्छन्, "आध्यात्मिक र सांसारिक व्यक्तिबिच के भिन्नता हुन्छ?" ठट्टाको रूपमा, म उनीहरूलाई यो भन्ने गर्छुः सांसारिक व्यक्तिले आफ्नो लागि खाना मात्रै जुटाउँछ। अरू सबैथोक—आनन्द, शान्ति, प्रेम—को लागि उसले माग्नुपर्ने हुन्छ। आध्यात्मिक व्यक्तिले आफ्नो लागि सबैथोक जुटाउँछ—प्रेम, शान्ति र आनन्द। उसले खानाको लागि मात्र भिक्षा माग्छ, तर यदि उसले चाहने हो भने, उसले त्यो पनि जुटाउन सक्छ !न्युज कारखाना

–सदगुरुको प्रवचनमा आधारित

Skip This
Skip This
Logo