केही दलहरू कांग्रेसको औँला नसमाती हिँड्न सक्दैनन्: ओली

केही दलहरू कांग्रेसको औँला नसमाती हिँड्न सक्दैनन्: ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरू कांग्रेसको औँला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले एमालेले भने कसैले बैसाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हाँसिल गर्ने दाबी समेत गरेका छन् । नेपाल संवत् ११४२ को अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको औँला समातेर हिँड्न पल्केकाहरूलाई कांग्रेसले कहिलेसम्म औँला दिने हो भन्ने थाहा नभएको पनि बताएका छन् । 

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दाबी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढ्ने दृढता व्यक्त गरेका छन् । उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको दोहोर्‍याएका छन् । अध्यक्ष ओलीले भने, ‘अब अरू फाँचफुच्चेहरु चाँहीसँगै जान्छौँ भन्छन् । अनि काँग्रेसको औँला नसमाती त हिँड्नै सक्दैनन् त,  कसरी जाँदैनन् ? गईहाल्छन नि सँगसँगै । आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरू, काँग्रेसको औँला समातेर हिँड्न पल्केकाहरू, त्यो हिँड्न खोज्छन् नै । तर काँग्रेसले कहिलेसम्म औँला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैसाखी टेकेर होइन, आफै चुनाव लड्न सक्षम छ । आफैँ चुनाव लड्छ, आफै जित्छ । नेपाली जनताले देखेका छन्–नेकपा एमाले बल्ल सुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको । त्यस्तो एमाले बनेको छ । त्रिशूलीमा हामी देख्छौँ–कहिले कहिले फोहोर त्रिशूलीको बीचमा खसेको हुन्छ । झारपातहरू परेको हुन्छ, त्यहाँ । त्यो पानीले, छालले बगाउँदै बगाउँदै किनारामा लान्छ । नेकपा एमालेबाट पनि किनारामा गइसकेको कुडाकर्कटहरु, फोहोरहरुविनाको स्वच्छ एमाले छ । त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढ्छ । यसले विजय हासिल गर्छ । र यो राष्ट्र निर्माणको काममा अगाडि बढ्छ । यो जरुरी छ । किन जरुरी छ भने–यो देश यही अवस्थामा राखिरहन सकिँदैन । यसलाई अगाडि बढाउनै पर्छ ।’

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरूको पुनर्निर्माणमा आफूहरूले जोड दिएको स्मरण समेत गराएका छन् । उनले चाडपर्वै पिच्छे फरक फरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताए ।

Logo