भरतपुरमा ६ जना मन्त्री उतारेर प्रचण्डले गरे ‘विकास बहस’

भरतपुरमा ६ जना मन्त्री उतारेर प्रचण्डले गरे ‘विकास बहस’

केन्द्रबिन्दु
0
Shares

आफू र नेकपा माओवादी केन्द्रलाई सिध्याउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताउँदै आएका प्रचण्डले भरतपुरमा सोमबार ६ जना मन्त्री उतारेर 'विकास बहस' गरेका छन् । सत्तारुढ गठबन्धनका नेता प्रचण्डले संघका चार र प्रदेशका दुई मन्त्री भरतपुरमा ल्याएर विकास बहस गरेका हुन् ।

भरतपुर महानगरपालिकाको आयोजना भनिए पनि नजिकिँदो स्थानीय तहको चुनाव र एमालेको महाधिवेशनलाई लक्षित गरेर समृद्ध भरतपुरको लागि विकास बहस नामक कार्यक्रमको आयोजना गरिएको हो । बहस कार्यक्रमका लागि अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, पर्यटन मन्त्री प्रेम आले, मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, बाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री सालिकराम जम्कट्टेल र आन्तरिक मामिला मन्त्री कृष्ण खनाल आएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यति बेला देशका धेरै मानिसको ध्यान चितवनतर्फ रहेको भन्दै चितवनमा पक्कै केही कुरा लुकेको बताए । ‘अब चितवनमा के हुन्छ ?  भनेर सोध्छन् । भोजपुर गयो त्यही छ, सर्लाही गयो त्यही छ, महोत्तरी, रौतहट गयो त्यही छ । भनेपछि चितवनमा पक्कै केही छ,’ उनले भने, ‘त्यत्तिकै त चितवनमा सबैको ध्यान गएको होइन नि ।’ 

कुनै दललाई आरोप लगाउने मुडमा नरहेको भन्दै उनले सबैले चितवन रोज्नुमा पनि केही कुरा लुकेको हुनसक्ने बताए । भरतपुर महानगरपालिकामा भएको विकासको यात्रा भत्किन नहुने उनले बताए । महानगरपालिकाको विकासका निम्ति रेणु दाहालको समर्पणबाहेक अन्य केही स्वार्थ नरहेको उनले दाबी गरे । ‘हाम्रा मित्र हुन् वा आलोचक । या विरोधी हुन् । सबैको निम्ति चितवन भन्ने भएको छ । त्यसले हामी सबैको जिम्मेवारी बढाएको जस्तो लाग्छ मलाई,’ उनले भने, ‘अस्थिरता निम्त्याउन खोज्नेहरूलाई कसरी परास्त गर्ने होला । विकास र समृद्धिको यात्रालाई डिरेल गर्न खोज्ने प्रवृत्तिलाई कसरी परास्त गर्ने होला ? भन्ने चासो, जिज्ञासा र जागरुकता बढ्नुपर्ने भएको छ ।’

गठबन्धनको सरकारले चितवनमा नारायणी र राप्ती नदी तटबन्धन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई लालपुर्जा, रंगशाला निर्माणलगायतका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर गरिरहेको उनले बताए । किसानसँग विश्वविद्यालय कार्यक्रममा पनि पर्याप्त बजेट व्यवस्था गरेर देशभर लैजानुपर्ने उनको भनाइ छ । ‘८-१० वर्षभित्र चितवनमा ठुलो क्रान्ति ल्याउने र चितवनमार्फत देशभर ल्याउने सम्भावना छ,’ उनले भने, ‘यो समृद्धिको नयाँ युग निर्माणसँग सम्बन्धित कुरा हो ।’ 

‘नेतृत्वलाई समाप्त पार्न एमालेको कुम्भ मेला’

प्रतिगमनका माध्यमबाट माओवादीलाई सिध्याउन नसकेपछि माओवादीको नेतृत्वलाई नै समाप्त पार्ने दुरासयले एमाले लागेको उर्जामन्त्री पम्फा भुसालले आरोप लगाइन् । ‘नेतृत्वलाई समाप्त पार्न यही भरतपुरलाई नै थलो बनाउन लागेको हामीले देखेका छौँ,’ उनले भनिन्, ‘केही दिनमै नारायणी किनारमा एक प्रकारको कुम्भ मेला हुँदैछ भन्ने सुनेको छु ।’

राजनीतिक परिवर्तनमा चितवनले ठुलो भूमिका खेलेको भन्दै उनले अब पनि चितवनले प्रतिगमनलाई साथ नदिने विश्वास व्यक्त गरिन् । चितवनको विकासका लागि आफ्नो मन्त्रालयबाट हुने काममा कुनै ढिलाइ हुन नदिने उनले प्रतिबद्धता जनाइन् । ‘नारायणीमा तटबन्धन गर्नका लागि डीपीआर तयार भइसकेको छ । केही दिनमै टेण्डरमा जान्छौँ र यही वर्षभित्रै तटबन्धनको काम सुरु गर्नेछौँ’, उनले भनिन् ।

भरतपुर महानगरपालिका निर्माणको चरणमा रहेका र आगामी आयोजनाको लागि बजेटको अभाव हुन नदिने अर्थमन्त्री जनार्दन शर्माले पनि प्रतिबद्धता जनाए । ‘अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र ईर्ष्या गर्न लायक भइसक्यो । विकासले तीव्रता पाएको छ,’ उनले भने, ‘नारायणी नदी तटबन्धनको लागि अर्थ मन्त्रालयले उचित बजेटको व्यवस्था गर्न जानेका छौँ । त्योअघि बढ्छ ।’

Skip This
Skip This
Logo