काठमाडौं । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ । गत असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रीय कारागारले जनाएको हो ।
घटनाका विषयमा जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मीप्रसाद बास्कोटाले तीन दिनदेखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सुन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताए । शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उनको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोट पटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचारहरु प्रकाशित प्रसारित भएकाले त्यस्ता समाचार सामाग्रहरुप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सिसिटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्टपछि थाहा हुने बताए ।
त्यस्तै वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपचारका लागि वीर अस्पताल ल्याउँदा जैसवाल जीवित रहेको कुनै पनि लक्षण नदेखिएको दाबी गरे । अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रहअनुसार पीसीआर परीक्षण गरिएको उनले बताए । वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मी मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको उनको भनाइ छ । बाहिर आएजस्तो शरीरमा कुनै चोट पटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको उनको दाबी छ ।
त्यस्तैगरी अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निस्किएकोे र मुख र नाकबाट रगत बगेको देखिएको बताए ।





























प्रतिक्रिया