नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ। मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो।
बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए।
आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन्। तामाङले भने, “यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ।
गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्नेछन्। महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ। उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ।
स्वास्थ्य बीमाको टिकट अनलाइनबाट
भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ। यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ। उनले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए। कोरोनापछि दैनिक स्वास्थ्य बीमाका बिरामी आठ सयको हाराहारीमा अस्पतालमा आउने गरेको पौडेलले जानकारी दिए।
सामान्य अवस्थामा भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन्। स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट व्यवस्था गरिने भएपछि बिरामीहरु बढ्ने उनले जानकारी दिए।































प्रतिक्रिया