सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।
बुधवार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहलले सञ्चारकर्मीहरूको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताएका हुन् । उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरूको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए । अध्यक्ष दाहालले अदालतमा ठुलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि गठबन्धनलाई कुनै ठुलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको बताएका छन् ।
अध्यक्ष दाहालले भने, ‘न्याय भनेको सामान्यतया एउटा स्वतन्त्र र गरिमामय संस्था हो । मानिसहरूले अन्तिममा गएर न्याय खोज्ने भनेको न्यायालय, अदालतमा गएर नै हो, तर अदालत भित्र अहिले जे समस्या देखिएको छ, त्यो पक्कै पनि राम्रो कुरा होइन । त्यस कारण हामीले गठबन्धनको तर्फबाट पाँच वटै पार्टीको यसमा गम्भीर ध्यानाकर्षण भएको छ, यसको छिटो भन्दा छिटो समाधान हुनुपर्छ भन्ने हामी ठान्दछौँ । यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ । आज भोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर जरुरी परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानको लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ, मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ, यसबाट ठुलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन । यो समाधान हुन्छ र अहिले गठबन्धन जसरी सकारात्मक ढंगले अगाडि बढेको छ त्यो निरन्तर ढंगले जान्छ भन्ने कुरा नै हो ।’
अध्यक्ष दाहालले ५ दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताएका छन् । उनले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खालि १९ सिटको चुनाव मिलेर लड्ने पनि बताए । अध्यक्ष दाहालले प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिस्पर्धा गर्ने बताए ।
अध्यक्ष दाहालले भने, ‘अर्को गठबन्धनको तपाइहरूलाई थाहा नै छ, ढिलो भए पनि ५ दलिए समन्वय समिति भनेर एउटा उच्चस्तरमा एउटा संयन्त्र बनाएका छौँ, त्यो पार्टीहरूको बीचको संयन्त्र हो । त्यो सरकारलाई निर्देशन गर्ने वा सरकार भन्दा माथि भनेर कतिपयले भन्छन्, त्यो सरकार भन्दा माथि होइन, दुनियाँमा जहाँ पनि संयुक्त सरकार हुँदा ती संयुक्त सरकारमा संलग्न पार्टीहरुले एउटा न एउटा संयन्त्र बनाउने नै गर्छन् त्यो पार्टीहरूको बीचको त्यो पार्टीहरुबीचको सम्बन्ध सुदृढ गर्नको लागि हुन्छ, त्यसलाई कमजोर पार्न होइन, सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरुले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्यूहरुमा समान धारणा बनाउनको लागि यस्तो धारणा बनाउने गर्दछन्, हिन्दुस्तानमा हे¥यो भने त्यही छ । गठबन्धनलाई अब आउने चुनावसँग लैजाने बाटो अब क्लियर भयो । एउटा कुरा त अब हामीले तत्काल आउने राष्ट्रियसभामा १९ सिट खालि हुँदैछ, त्यसमा हामी मिलेर चुनाव लड्ने भनेका छौँ । त्यो हामीले नीतिगत, व्यवहारिक पनि निर्णय नै गरिसकेका छौँ । त्यस्तै प्रतिनिधिसभाको उपचुनाव हुने भयो भने वा प्रदेशसभाको भयो भने त्यसमा पनि मिलेर जाने निर्णय गरेका छौँ ।’
देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरू सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरूसँग छलफल गरेर मात्र अघि बढाउने बताए । उनले सुदूरपश्चिम सरकार नढल्ने बताए । अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताए । उनले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकै पटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकै पटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि दोहोर्याएका छन् ।































प्रतिक्रिया