नेकपा एमालेको १० मंसिरबाट सुरु हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, त्यहि रफ्तारमा नेतृत्वमा दाबी गर्ने नेताहरूले पनि उमेदवारी घोषणा गर्न सुरु गरिसकेका छन् ।
एकताको सन्देश दिन सर्वसम्मत पार्टी अध्यक्ष चयन गर्ने चलिरहेको तयारीलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गर्दै आफ्नो उमेदवारी घोषणा गरिसकेका छन्।
विश्लेषकहरुले ओलीको वरिपरि घुमेको एमाले राजनीतिक चक्रका कारण रावलबाहेकका नेताले सार्वजनिक रूपमा मुख खोल्न नसकेको तर्क गरिरहेका छन् । यद्यपी केही नेताहरुले रावलको उक्त कदमपछि भने उम्मेदवारीको तयारी सुरु गरेका छन् ।
पार्टी फुटको आलो घाउमा खाटो बस्न नपाउँदै सुरु भएको नेकपा एमालेको महाधिवेशनमा पदाधिकारी संख्याको तुलनामा आकांक्षी बढी देखिएसँगै सबैलाई समेटेर अघि बढ्न अध्यक्ष ओलीका समुन्ने दरिलो चुनौती खडा भएको छ। आउनुहोस् अध्यक्ष ओलीका समुन्ने देखिएका ३ चुनैतिको चर्चा गरौँ ।
१० भाइको व्यवस्थापन
आफ्नो राजनीतिक निर्णय भएको र प्रक्रियाको विषय महाधिवेशन हलमा टुंगिने बताउँदै रावलले उम्मेदवारी घोषणा गरेसँग अध्यक्षमा सर्वसम्मतको अभ्यास भइरहेका बेला अध्यक्ष ओलीलाई पार्टी विभाजनका बेला एमालेतिरै लागेका रावलसहितका १० भाइलाई मिलाउने मुख्य चुनौती थपिएको छ ।
ओलीलाई टक्कर दिन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पार्टी उपाध्यक्ष रावलको उक्त कदमले वरिष्ठ उपाध्यक्षमा आफूलाई सुरक्षित गर्न खोजेको उनकै उम्मेदवारी घोषणाको तर्क र रावल निकटका नेताहरुको प्रतिकृयाबाट संकेत पाउन सकिन्छ । तर, अध्यक्ष ओलीका विश्वाशपात्र तथा पार्टीका महासचिव ईश्वर पोखरेलको पनि वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारी रहँदै आएको छ ।
अध्यक्ष ओलीका सामुन्ने रावलसँगै, घनश्याम भुसाल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका १० बुँदे सहमतिबाट एमालेमा फर्किएका नेताको व्यवस्थापन गर्ने चुनौती छ ।
यता घनश्याम भुसालले पनि महासचिवमा उम्मेदवारी दिने निकटस्थ नेताहरूसँगको कुराकानीमा बताएका छन्।
ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने ओलीको तयारी छ भने महिला नेतृत्वमा प्रतिस्पर्धी कम भएका कारण अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षमै दोहोर्याउने रणनीतिमा ओली रहेपनि वर्तमान सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईदेखि लिएर रघुजी पन्तसम्मका १० बुँदे पक्षधर नेताहरूको पदाधिकारीमा अटाउने चाहनाको व्यवस्थापन गर्न पनि ओलीलाई ‘फलामको च्युरा’ हुने देखिन्छ।
आफ्नालाई मिलाउन पनि चुनौती
नवौँ महाधिवेशनदेखि नै ओलीको पक्षमा खुल्दै आएका नेता विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलाई मिलाउन पनि अध्यक्ष ओलीलाई चुनौती नै छ । यी तीनै जना नेताहरुलाई १०औँ महाधिवेशनमा महासचिवका बलिया दावेदारका रूपमा बुझिएको छ ।
गुरुङले त महासचिवमा दाबी पेस नै गरिसकेका छन् । यता पौडेल पनि कुनै हालतमा महासचिवको अडानबाट पछि नहट्ने पक्षमा छन् ।
उता ओलीलाई लामो समयदेखि नजिकबाट सहयोग गर्दै आएका सुवासचन्द्र नेम्वाङ पनि सके वरिष्ठ उपाध्यक्ष नसके उपाध्यक्ष बन्न चाहन्छन् । एकताको सन्देश दिन सर्वसम्मतमा जोड गर्दै आएपनि अध्यक्षमा रावलको उमेदवारी घोषणा पछिका ओलीका क्रियाकलापले सबै पदमा निर्वाचन हुने संकेत गरिसकेको छ ।
माओवादीबाट आएका नेताहरुको व्यवस्थापन
सर्वोच्च अदालतको आदेशले नेकपा टुक्रिएर एमाले र माओवादी बेग्लाबेग्लै पार्टी भएपछि रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतका नेता एमालेमा समाहित भएका छन्। एमालेमै रहेर लामो समय राजनीति गरेका नेताको व्यवस्थापनमा सकस परिरहेका बेला यी चार नेताको व्यवस्थापन पनि ओलीका सामुन्ने थप चुनौती बेनेको छ ।
पद माया मारेर एमालेमा होमिएका यी नेताहरु १० औँ महाधिवेशनबाट राजनीतिक क्षतिपूर्ति उठाउन चाहन्छन् । बादलले पनि वरिष्ठ उपाध्यक्षमा दाबि सुरु गरेका छन् । यद्यपी ओलीले बादललाई वरिष्ठ उपाध्यक्ष नदिएर जनजाति कोटाबाट उपध्यक्षमा अटाउन चाहेका छन् तर पनि ओलीका विश्वास पात्र मानिने सुवास नेम्बाङलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीका अगाडि अझै पनि छ । यता नेकपा फुटको समयदेखि नै ओलीलाई साथ दिँदै आएका पूर्व माआवादी नेताहरुमध्ये कम्तीमा तीन जनालाई पदाधिकारीमा अटाउनै पर्ने दबाबका कारण बादल, रायमाझी र भट्टलाई उपाध्यक्षदेखि सचिवसम्ममा व्यवस्थापन गर्नुपर्ने बाध्यतामा अध्यक्ष ओली रहेका छन् ।
तर, सात जना सचिवका लागि अहिले नै १५ जना हाराहारीको दाबी छ । निर्वाचन प्रक्रियामा जाँदा १० बुँदे पक्षधर र माओवादीबाट समाहित भएका नेताहरू हार्ने पक्का भएका कारण ओली दबाबपूर्ण व्यवस्थापनको रणनीतिमा रहँदै आएका छन्। पदाधिकारी सर्वसम्मत ल्याउन ‘कसलाई बोक्ने, कसलाई छोड्ने?’ दुबिधामा छन्।
एमालेको १० औं महाधिवेसमा ओलीको रणनीतिले काम गर्ला वा बाध्यात्मक परिस्थितिमा सबै पदमा चुनावने गर्नुपर्ने हो त्यसका लागि केही दिन कुर्नै पर्ने हुन्छ । यो रिपोर्ट तयार गर्दासम्म कुन पदमा कुन नेताले खुलेर दाबि गरिरहेका छन् त्यसतर्फ लागौँ ।
सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उमेदवारी घोषण गरिसकेपछि अध्यक्ष पदमा भीम रावल र केपी ओलीको टक्कर पर्ने देखिएको छ ।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली र गण्डकी प्रदेश संयोजक किरण गुरुङको दावी रहेको छ ।
सचिवमा हालसम्म विन्दा पाण्डेले मात्रै खुलेर दाबी गरेकि छिन् । यद्यपि उक्त पदका आकांक्षीको लिस्ट भने लामो रहेको छ ।
यता वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङले, रामबहादुर थापा बादल र ईश्वर पोखरेलले खुलेरै दाबी गर्दै आएका छन् ।
त्यस्तै सचिवमा खुलेका नेताहरुमा महेश बस्नेत, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे र खगराज अधिकारी रहेका छन् । तर यस पदका आकांक्षीहरुको लिस्ट तयार गर्ने हो भने १५ जना भन्दा बढी देखिन्छन्।































प्रतिक्रिया