प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली ०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ। यो निर्णयसँगै पर्यटन बोर्डका उपाध्यक्ष फणीन्द्र अधिकारीसहित अन्य सदस्य पद मुक्त भएका छन्।
भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यमा देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा, इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको थियो। यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ।
बैठकले प्रतिष्ठानको चल अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ। प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मासहित सबै सदस्यहरू पदमुक्त भएका छन्।
बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए। खेलकुद विकास बोर्ड तथा श्रम सल्लाकार भने प्रदेश सरकारले खारेज गरेको छैन। बुधबार मात्रै खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले सरकारले हटाए कानुनी लडाइँमा जाने बताएका थिए।































प्रतिक्रिया