नेपाली कांग्रेस दाङ जिल्ला अधिवेशन: सभापतिमा चार जनाको उम्मेदवारी

नेपाली कांग्रेस दाङ जिल्ला अधिवेशन: सभापतिमा चार जनाको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्ला अधिवेशनको लागि प्रक्रिया सुरु भएको छ। जिल्ला नेतृत्वको लागि सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चुनिने भएको छ। 

कांग्रेस दाङ हाक्ने गरी जिल्लामा चार जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन्। सभापति पदका लागि शुक्रबार चार जनाले मनोनयन दर्ता गराएका हुन्। संस्थापन पक्षधबाट दुई जना र संस्थापन इतरबाट दुई जना जिल्ला नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा छन् । 

संस्थापन पक्षबाट दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ बाट भूपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन्। जानकीलाल बस्नेत नेविसंघका पूर्व जिल्ला अध्यक्ष हुन् । १३औं महाधिवेशनका क्रममा क्षेत्रीय सभापतिमा बराबर मत आएपछि गोला प्रथाबाट उनी अनुराग यादवसँग पराजित भएका थिए ।

भूपबहादुर डाँगी क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति हुन् । डाँगी दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका छन्। उनी स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । 

क्षेत्र नम्बर २ बाट कमल किशोर घिमिरेले संस्थापन इतर समूहबाट समापतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । घिमिरे पूर्व जिल्ला सचिव हुन् भने गत अधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी हुन् । १३औं महाधिवेशनका क्रममा उनी पार्टी सभापति कीर्तिबहादुर खड्कासँग पराजित भएका नेता हुन् । संस्थापन इतरबाट दाङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने शंकर डाँगीले पनि सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनी अहिलेका जिल्ला सचिव हुन्।

जिल्ला कार्य समितिको उपसभापतिका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल, सूर्यप्रकाशले उम्मेदवारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेदवारी दिएका छन्।

सात जना पदाधिकारी, १८ जना समावेशी, २७ जना एक पालिकाबाट दुई/दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन्। नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट  नेतृत्व चयन हुन लागेको छ । 

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन्। यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक चुनाव हुने निर्वाचन समितिले जनाएको छ।

Logo