सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही सुन्दर अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए।
बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको बीबीसी तालिकाको चौथो स्थानमा उक्लिएको छ। बीबीसीले पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबलाई ३-२ ले पराजित गरेको थियो।
त्यस्तै दुई खेलबाट एक अंक जोडेको एनआरटी भने तालिकाको १२औं स्थानमा छ। एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २-१ ले पराजित भएको थियो।
स्टेफेन बिनोङले ४३औं मिनेटमा पेनाल्टी बक्सको बायाँतर्फबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएकोे थियो।
बीबीसीका दिनेश राईले ४९औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेका थिए। बीबीसीका दिनेशले ६६औं मिनेटमा प्रहार अजितले पुनः विफल पारिदिए।
आजै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।





























प्रतिक्रिया