कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव भएका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापनअन्तर्गतका आफ्ना एजेण्डा सुनाउँदै भने, “विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेण्डा हो।” 

राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डेले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गरे। पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उनले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पारे।

उनी विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य र २०७४ सालको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसको हालको विधानले महिला, आदिवासी/जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लष्टरबाट एक/एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ। कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ। 

Logo