महाधिवेशनले मुलुकको नेतृत्व गर्न एमाले सक्षम रहेको सन्देश दिएको एमाले नेताहरूको भनाइ

महाधिवेशनले मुलुकको नेतृत्व गर्न एमाले सक्षम रहेको सन्देश दिएको एमाले नेताहरूको भनाइ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेताहरूले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् ।

नेकपा एमालेका नवनिर्वाचित सचिवद्धय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन् । 

मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्दालाई राष्ट्र र जनताको हितमा समाधान गर्ने गरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश सो महाधिवेशनले दिएको बताए । उनले नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको बताए । सचिव भट्टराईले भने, ‘महाधिवेशनको सन्देश नेपाली जनताको बीचमा नेकपा एमाले लोकप्रिय छ । नेकपा एमालेप्रति जनताको विश्वास, भरोसा र समर्थन अभूतपूर्व छ । नेकपा एमाले नै यो मुलुकको राष्ट्रिय राजनीतिको मुलुकलाई सही दिशामा नेतृत्व गर्न सक्ने राजनीतिक दल हो । र छिटोभन्दा छिटो नेकपा एमालेको नेतृत्वमा नयाँ म्यान्डेट प्राप्त गर्दै नयाँ सरकार निर्माण गर्नुपर्छ । र पार्टीलाई अझै सुदृढ र एकताबद्ध बनाउँदै जानुपर्छ । र आजको जति पनि राष्ट्रिय मुद्धाहरु छन् । ती राष्ट्रिय मुद्दालाई मुलुक र जनताको हितमा समाधान गर्ने गरी नेकपा एमालेले यो देशमा नेतृत्वदायी भूमिकामा खेल्नुपर्छ भन्ने म्यान्डेट अथवा सन्देश यो महाधिवेशनले दिन्छ ।’

एमालेकी अर्का सचिव पदमा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताइन्  । उनले त्यसका लागि नयाँ संकल्प र पार्टी भित्रको नयाँ एकताका साथ अघि बढ्नुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दाबी गरिन् । सचिव अर्यालले भनिन, ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जति पनि समस्याहरू छन् । नेपाली जनताको जति पनि सपनाहरू छन् । ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष गर्याे है भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन समक्ष भएको छ ।’

नवनिर्वाचित केन्द्रीय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताइन् । उनले केपी ओलीले अघि सार्नु भएको समृद्ध नेपाल: सुःखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारी समेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दाबी गरिन् ।

नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौँ जनता सहभागी भएको दाबी समेत गरिन् ।

Logo