राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुनमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गरेका छन्। पार्टीको एकता महाधिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने उद्घोष गरे।
उनले राप्रपाले राजा आउ देश बचाउ भन्ने नारा छाडेर जनता आउ राजा ल्याउ भन्ने नारा लगाउने बताए। उनले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन्।
उनले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे। विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको समेत बताए।
अब हामी कहिल्यै फुट्दैनौं
अध्यक्ष थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन्। आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उनले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताएका छन्।
महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ? भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाएका हुन्।
भृकुटीमण्डपमा राप्रपाको आजदेखि महाधिवेशन सुरु भएको हो। २०७३ सालमा विभिन्न पार्टी मिलेपछिको राप्रपाको यो पहिलो महाधिवेशन हो।
महाधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताए। यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उनले जनाए। उनले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गरे।
सोही क्रममा उनले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताए। यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उनले बताए। उनले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताए। तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए।
यस्तै कार्यक्रममा उनले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताए। तर राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको बताए। राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको उनकाे भनाइ थियाे।
उनले राप्रपाले धार्मिक स्वतन्त्रता, समानता स्वीकार गर्ने पनि बताए। तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने भन्दै थापाले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताए।































प्रतिक्रिया