काठमाडौं ।
२०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको रानीपोखरी पूर्ननिमार्ण शुरु भएको करिब चार वर्षपछि मनमोहक बनेको छ ।
पुनर्निर्माण प्राधिकरणको आग्रह तथा खानेपानी मन्त्रालयको समन्वयमा आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको पाइपलाइनमार्फत सुन्दरीजलबाट बागमती नदीको पानी ल्याएर पोखरीमा हालेपछि मनमोहक देखिएको हो । पोखरीमा करिब तीन करोड लिटर पानी भरिएको छ।
०७३ मंसिरमा पोखरीका माछा कमलपोखरीमा स्थानान्तरण गरिएपछि रानीपोखरी सुकाइएको थियो । करिब चार वर्षपछि पोखरीले पुनर्जीवन पाएको हो। पुनर्निर्माण भएको रानीपोखरी सडकको सतहबाट १९ दशमलव दुई फिट गहिरो छ। अहिले भने पाँच दशमलव दुई फिटसम्म मात्र पानी भरिनेछ।
सम्पदाविद् राजु मानन्धरका अनुसार पोखरीको दक्षिणपट्टिको मोहडा १३६ दशमलव पाँच मिटर, पूर्वपट्टि १२५ दशमलव ३८ मिटर, उत्तरपट्टि १६४ दशमलव ६ मिटर र पश्चिम मोहडा १२३ दशमलव पाँच मिटर छ।
दुई लाख २० हजार वर्गफिटको रानीपोखरीमा पानी अड्याउन १५ देखि १८ इन्चसम्म कालो माटो बिछ्याइएको छ। पोखरीको चारैतिर तीन मिटरसम्म १८ इन्च र बाँकी भित्री भागमा १५ इन्चसम्म कालो माटो बिछ्याइएको छ ।
रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माणको ९९ प्रतिशत काम सकिएको छ । विसं. १९९० सालमा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्धशमशेरले गुम्बज शैलीमा निर्माण गरेका थिए ।































प्रतिक्रिया