कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगन, १४औँ महाधिवेशनपछि हुने

कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगन, १४औँ महाधिवेशनपछि हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय हो। कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

पार्टीको क्रियाशील सदस्यतालगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्तापूर्व), बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।

यसबाहेक कांग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। 

साथै देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेसले आजदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरेका छन्।

प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, वाग्मती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ। कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ।

यस्तो छ प्रदेश अधिवेशन कार्यतालिका
समितिले प्रकाशन गरेको प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मा मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।  १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ। 

Skip This
Skip This
Logo