नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनु भएको हो । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताए । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए । उनले नेपाली काँग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काँग्रेस सबल बन्ने बताए ।
नेता थापाले भने, ‘कसले बिगार्यो काँग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ काँग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने काँग्रेस ? काँग्रेस सुध्रने भने के हुन्छ ? सुध्रेन भने काँग्रेस सकिन्छ । काँग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । मलाई चिन्ता लाग्ने सबै कुराहरू मेरा कुराहरू भए । हामी नौ लाख पार्टीका कार्यकर्ताहरू छौँ । हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो । नेपाली काँग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामी नौ लाख मान्छेलाई काँग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा काँग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली काँग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि काँग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको त्यसको आवश्यकताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले काँग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’
नेता थापाले यो महाधिवेशनपछि नेपाली काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली काँग्रेससँग जोड्नुपर्ने बताए । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने बताएका हुन् ।































प्रतिक्रिया