कांग्रेस महाधिवेशनः उपसभापतिमा बस्न सिटौलालाई रामचन्द्र पाैडेलको प्रस्ताव

कांग्रेस महाधिवेशनः उपसभापतिमा बस्न सिटौलालाई रामचन्द्र पाैडेलको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे। केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केहीबेर बसे अनि बाहिर निस्के। आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने दबाबमा रहेका पौडेल त्यहाँबाट सिधै नेता कृष्णप्रसाद सिटौलाको घर पुगे।

सिटौला पनि आफू निकट नेताहरूसँग महाधिवेशनको तयारीबारे छलफलमा थिए। बेलाबेला पौडेल र सिटौलाबीच संवाद र छलफल भने भइरहने गर्छ। तर, आज बिहान दुवै नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ। 

१३औं महाधिवेशनपछि पौडेल र सिटौला अलग अलग भएका हुन्। सो महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा सिटौलाले साथ दिएपछि पौडेल पराजित भएका थिए । 

त्यस यता उनीहरूबीच खासै राम्रौ सम्बन्ध छैन । तर, सभापतिको साझा उम्मेदवार घोषणा गरेर नगए यसपटक पनि देउवाले जित्ने ठानेर पौडेल सिटौलाको सहयोग माग्न पुगेका थिए । भेटमा पौडेलले मिलेर जान आग्रह गरेका थिए। सिटौला निकट स्रोतका अनुसार पौडेलले उपसभापतिमा बसिदिन र पदाधिकारीमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए । सिटौलाले यसबारे आन्तरिक छलफल गर्ने बचन दिएका थिए।

सिटौलाले पौडेल समूहसँग आफ्नो पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने अडान राखेको छ । तर, पौडेल–कोइराला पक्ष त्यो मान्न तयार छैन। त्यही भएर सिटौलाले यसपटक पनि देउवासँग मिलेर जान सक्ने संकेत देखिएको छ।

तर, कांग्रेसका युवा नेता गगन थापा भने जसरी पनि योपटक सिटौलालाई पौडेल समूहमा ल्याउने पक्षमा छन्। थापाकै आग्रहमा पौडेल सिटौला मनाउन पुगेको स्रोतले बतायो। उम्मेद्वारी मनोनयन दर्ता नहुने समयसम्म कसले कसलाई साथ दिन्छ भन्ने अझै भन्न नसक्ने नेताहरू बताउँछन्।

फाइल तस्बिर

Skip This
Skip This
Logo