नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाईं उत्कर्षमा पुगेको छ।
सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला भने आफू निकट नेताको व्यवस्थापनमा जुटेका छन् ।
कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको लिगेसी दावी गर्दै शशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिले सभापतिमा दावी गरिरहँदा सिटौला भने सभापतिका अर्का आकांक्षी देउवासँग निजक रहेर पहिला आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन्।
विगतमा सभापतिका उम्मेद्वारका रुपमा आफूलाई उभ्याउँदै आएका सिटौला आकांक्षी वढेसँगै सभापतिको दौडबाट पछि हटेका छन् । तर उनले आफूलाई समर्थन गर्दै आएका पूर्वविद्यार्थी नेता प्रदीप पौडेल, नेताहरु उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईंलगायतका दुई दर्जन वढी नेतालाई केन्द्रीय समितिमा अटाउने गरी सभापतिका आकांक्षीहरुसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन्।
महाधिवेशन उद्घाटनको दिनसम्म आइपुग्दा उनी वर्तमान सभापति शेरबहादुर देउवा निकट बसेर आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन्।
आफू पक्षीय ३० जना नेतालाई देउवाको प्यानलबाट प्रतिस्पर्धा गराउनु पर्ने अडानमा रहेका सिटौलाले माग पुरा नभए महाधिवशेन उद्घाटनकै दिन सार्वजनिक रुपमा सभापतिमा दाबी गर्ने बताइरहेका छन् ।
तर देउवाले कम्तीमा २० जना सिटौला पक्षीय नेताको व्यवस्थापन गर्ने बचन दिइसकेको सिटौला निकट एकजना केन्द्रीय सदस्यको दाबी छ। सभापति नपाए सबैभन्दा वढी मतसहित उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना सिटौलाको छ।
तर देउवासमूह भित्रैबाट विजय गच्छदार, पूर्णबहादुर खड्काजस्ता नेतालाई देउवाले उपसभापतिको आश देखाएका कारण सिटौला सो पदमा आफू सुरक्षित नरहेको महसुस गरिरहेका छन्।
‘सभापति छाडेर उपसभापतिमा जाँदा पनि देउवाले दुईजना नेतालाई उपसभापति बनाउने बचन दिइसक्नुभएको छ, त्यसकारण सिटौला आफु सभापति या पदाधिकारी बन्ने भन्दा आफु निकट नेताको व्यवस्थापनमै केन्द्रीत हुनुहुन्छ,’ सिटौला निकट ती केन्द्रीय सदस्यले न्युज कारखानासँग भने।
देउवाको साथ छाडेर आफू निकट नेता जिताउन नसकिने र उपसभापतिमा दाबी गरेर कोइराला लिगेसीका नेतालाई चिड्याउन नचाहने सिटौलाको रणनीतिका कारण पनि उनी अहिलेसम्म खुलेर बोलेका छैनन्।































प्रतिक्रिया