नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेद्वार उठाउने बारेमा सहमति भएको छ।
१४औं महाधिवेशनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् ।
सिटौलाले महामन्त्री र दुई सह-महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ ।
मानबहादुर विश्वकर्माले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा
कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन्।
विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् ।
आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसले सरकार बनाउँछ: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने दाबी गरेका छन्। कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई समापन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसकै बन्ने दाबी गरेका हुन्।
उनले ओली नेतृत्वको सरकार हुँदा मुलुकमा डर त्रास व्याप्त रहेकोमा अहिले त्यसबाट देशलाई मुक्ति मिलेको बताए । उनले ओली प्रवृतिबाट मुक्त गर्न नेपालमा कांग्रेस युक्त सरकार आवश्यक रहेको बताएका छन् ।
यसका साथै देउवाले कम्युनिस्ट शासनबाट मुक्त गर्न एक पटक आफूलाई कांग्रेस सभापतिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
'कांग्रेसलाई पहिलो पार्टी बनाएर देशको नेतृत्वमा ल्याऔं । कांग्रेसलाई स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्ने पार्टी बनाउने जिम्मा म लिन्छु । तपाईं एक पटक मलाईं निर्वाचित गराउनुहोस्,' उनले भने ।
देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् ।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए।
उनले निकट भविष्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा विजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए।
उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन आग्रह गरे।
‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ, त्यसकारण मलाई जिताइदिनुस् साथीहरु।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने।





























प्रतिक्रिया