नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ७ सय प्रतिनिधिहरू सहभागी छन्। ती मध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ। तर, महाधिवेशनमा आएका युवापंक्ति भने कांग्रेसको नेतृत्वमा युवा पुस्ताहरूलाई आउनबाट वृद्ध नेताहरूले अवरोध गर्ने गरेको भन्दै गुनासो गरेका छन्।
‘आउन त देशभरबाट महाधिवेशनमा युवाहरू पनि प्रतिनिधि भएर आएका छन्। तर, सभापतिमा र अन्य ठूला पदमा भने बुढापाका नेताहरूले नै ठाउँ ओगट्छन्। युवा पुस्तालाई अवसर भन्ने नारा लगाउने अनि अवसर भने आफैँ लिइराख्ने गर्छन्’, लमजुङबाट महाधिवेशन हेर्न आएका सन्तोष श्रेष्ठ भन्छन्।
काभ्रेबाट आएका सूर्यबहादुर लामा पनि कांग्रेसको अधिकांश केन्द्रीय पदमा युवाहरूको नेतृत्व देख्न चाहन्छन् । तर, युवा पुस्ताले खासै अवसर नपाउने उनको तर्क छ।
लामा भन्छन्, ‘हाम्रो इच्छा त युवाहरू धेरैभन्दा धेरै नेतृत्वमा आउन पाउनु पर्छ भन्ने हो । युवाहरू नेतृत्वमा आए समृद्धि र रुपान्तरण सम्भावना छ। तर, पार्टीमा क्षमता, दक्षताभन्दा बढी उमेर हेरिन्छ। वृद्ध नेताहरू नै नेतृत्वमा आउन खोज्छन्।’
पछिल्लो समय कांग्रेसमा युवाहरूको नेतृत्वका विषयमा व्यापक रूपमा बहस हुने गरेको छ। तर, बहस भएअनुसार अवसर दिनबाट पार्टी नेतृत्वहरू लागि नपरेको महाधिवेशनमा भेटिएकी सुनिता रिमालको बुझाइ छ।
उनी भन्छिन्, ‘भन्न त अब युवाहरूलाई अवसर भनिन्छ नि। तर, पद दिने बेला सधैँ पछाडि पारिन्छ। जसले नेताको चाकडी गर्छ, जाे धनि छ, उसले अवसर पाउँछ। नत्र आम युवाहरूले खासै अवसर पाउँदैनन्।’































प्रतिक्रिया