कोइराला परिवारका शशांक, शेखर र सुजाता, तीन जना तीनतिर

कोइराला परिवारका शशांक, शेखर र सुजाता, तीन जना तीनतिर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ। नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन्।

अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ। सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा उठ्ने भएकी छन्। 

शेखर कोइराला आफैं सभापतिमा उठ्ने भएका छन्। उनी यतिबेला आफ्नो नेतृत्वको प्यानल बनाउने अन्तिम चरणमा छन्। 

महामन्त्री डा.शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन्। उनी उपसभापति या महामन्त्रीकै उम्मेद्वार बन्ने भन्ने पनि सुनिश्चित भइसकेको छैन। 

शशांक शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा देउवाले कोइरालालाई आफ्नो उपसभापति बस्न आग्रह गरेको खबरले महाधिवेशनस्थलमा अहिले शशांक संस्थापन पक्षमा खुलेको भन्दै सनसनी मच्चिएको छ। यद्यपि शशांकले अहिलेसम्म केही सार्वजनिक गरेका छैनन्। केही अघिसम्म शशांक पनि सभापतिको दौडमा थिए।

Logo