नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।
शनिवारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताकोबीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् ।
उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबी समेत गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदृढ र विस्तृत संगठन निर्माणको काममा ढिलाइ गर्न नहुने स्पष्ट पारेका छन् ।
अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिएका छन् । जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन एमालेले अब सबै तहमा जाँदा त्यहाँको मुख्य मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीले काम गर्न सक्ने अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले भने, नेताहरूलाई जनताको बीचमा जाँदा जनता ‘पार्टीमा प्रवेश गर्नेहरूको लहर नै ल्याउँछौँ । ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ । यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताको बीचमा जानुपर्छ । र हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनु पर्छ । र कुनै मोर्चास्वर्चा सँग गठबन्धन गरिरहनु पर्दैन । जनता हाम्रो साथमा छ । जनताको साथमा हामी छौँ । जनताको सेवकको रूपमा जनताको बीचमा पुगेर जनताका समस्या बुझ्ने कम हामी गर्छौँ । यसपछि हामी जनताका बीचमा केही प्रश्नहरू पनि लिएर जान्छौँ । स्थानीय तहहरूमा, हामीले त्यस ठाउँमा, त्यस वडामा पाँच वटा गर्नुपर्ने अरू कामहरू के हुन ? के हुनुपर्छ ? भन्ने जनता चाहन्छ ? ती प्रश्नहरू लिएर जान्छौँ, जसबाट भोलिका निम्ति विकास निर्माण गर्दा कुन कुन आयोजना कसरी राख्नुपर्ने रहेछ ? ती कहाँ कहाँ रहेछ भन्ने हामी थाहा पाउँछौँ । हामीले प्रश्न सोध्नुपर्छ यस वडामा हामी पाँच वटा महत्त्वपूर्ण काम के के गर्नुपर्छ ? यस पालिकामा महत्त्वपूर्ण पाँच वटा काम के के हुन ? यस प्रदेश निर्वाचन क्षेत्रमा महत्त्वपूर्ण काम पाँच वटा के हुन ? अथवा यस संसदीय निर्वाचनको क्षेत्रमा पाँच वटा महत्त्वपूर्ण काम के के हुनुपर्छ ? यस जिल्लामा सर्वाधिक महत्त्वका पाँच वटा काम के गर्नुपर्छ ? र यस प्रदेशमा सर्वाधिक महत्त्वका पाँच वटा काम के गर्नुपर्छ ? यस हिसाबले प्रश्नहरू नै लिएर के चाहन्छ जनता ? पाँच वटा काम के हुन ? वडाका के हुन ? पालिकाका के हुन ? प्रदेशसभा निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्रका के हुन ? जिल्लाका के हुन ? यी प्रश्नहरू हामी जनताका बीचमा सोध्ने छौँ । यसबाट जनताका विकासका चाहना हामी बुझ्नेछौँ । यस्ता अनेक हिसाबले हामी जनताका बीचमा जान्छौँ । जनताका पिर मर्कादेखि, जनताको विकास, निर्माणको चाहना, सुशासनका क्षेत्रमा के गर्नुपर्छ भन्ने जस्ता कुराहरू पनि हामी जनताको बीचमा लिएर जान्छौँ । त्यस अनुसार हामी काम गर्छौँ । किनभने हामी जनताका सेवक हौँ । जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो ।’
अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका छन् । उनले अधिवेशन नभई जनवर्गीय संगठनहरुको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पारे । उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरूलाई सचेत गराएका छन् । अध्यक्ष ओलीले भने, ‘हाम्रा जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनहरू, त्यसपछि चुनावको तयारीसँगसँगै हामीले जनवर्गीय, पेसागत सामूदायिक संगठनहरुमा निश्चित अवधि तोकेर जनसंगठनहरुको हामी अधिवेशन गर्छौँ । त्यसकारण अहिले जनसंगठनहरुमा भइरहेको नेतृत्व अधिवेशन नगरेर नेतृत्व परिवर्तन भइरहने स्थिति छ । त्यसैले अहिलेको नेतृत्वको छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अहिलेको जनसंगठनहरुको नेतृत्वले अभिलम्ब अधिवेशन आयोजना गरेर त्यसका लागि अवधि तोकिनेछ । अबको हाम्रो काम भनेको अत्यन्तै गतिशीलताका साथ, तीव्र गतिका साथ हाम्रा कामहरू हुनेछ । र हामीलाई यस बैठकले कार्य विभाजन पनि गर्नेछ । त्यसोभएपछि हामीले आ–आफूले पाएका कामहरू कसरी अत्यधिक सफलताका साथ गर्न सकिन्छ ? त्यस हिसाबले हामी आफ्नो कार्य क्षेत्रमा जानेछौँ । त्यसर्थ म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु–यी अभिभाराहरू बोक्नका लागि तम्तयार भएर, ती कुराहरूको संगठनात्मक व्यवस्थापन, संगठनात्मक परिचालनको ढाँचा, ती कुराहरू तय गर्ने कुरा नै यस बैठकको अभिभारा हो ।’
अध्यक्ष ओलीले पार्टीका नेताहरूले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहोर्याएका छन् । उनले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताए ।































प्रतिक्रिया