कांग्रेस महाधिवेशनमा सभापति नै सभापति !

कांग्रेस महाधिवेशनमा सभापति नै सभापति !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको शनिबार दोस्रो दिन। महाधिवेशनमा नयाँ नेतृत्वका लागि बिहानैदेखि मनोनयन दर्ता गर्ने प्रक्रिया शुरु भएपनि मनोनयनको समय सकिन केही समय बाँकी रहनुभन्दा पहिले मात्र नेताहरुले उम्मेद्वारी दर्ता गराएका छन्। खासगरी पदाधिकारीमा नेताहरुले ढिलोगरी मात्र मनोनयन दर्ता गराएका हुन्।

सभापतिका उम्मेद्वार धेरै
कांग्रेसको आगामी नेतृत्वका लागि सभापति पदका आकांक्षी धेरै देखिएका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवाले सभापतिमा उम्मेद्वारी दिएका छन्। देउवाको प्रस्तावकमा बालकृष्ण खाण र समर्थकमा कृष्ण सिटौला बसेका छन्। देउवाले उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई राखेर प्यानल बनाएका छन्। 

त्यस्तै महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेललाई देउवाले उम्मेद्वार बनाएका छन्। यसैगरी ८ वटा सह-महामन्त्रीमध्येमा महिला कोटाबाट महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजाती तर्फबाट भिष्मराज आङ्दाम्बे, दलिततर्फबाट मानबहादुर विश्वकर्मा, मधेशीतर्फबाट महेन्द्र यादव, खस आर्यतर्फबाट किशोरसिंह राठोर, थारू तर्फबाट उमाकान्त चौधरी, मुस्लिमतर्फबाट फर्मुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाहीलाई उम्मेद्वार बनाएका छन् । 

यसैगरी सभापतिका लागि प्रकाशमान सिंहले उम्मेद्वारी दिएका छन् । सिंहले शनिबार दिउँसो औपचारिक कार्यक्रम नै गरेर सभापति पदमा उम्मेद्वारी घोषणा गरेका थिए । सिंहको टिमबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन् भने सुजाता कोइरालाले उपसभापतिमा उम्मेद्वारी दर्ता गरेका छन्। शनिबार दिउँसो उम्मेद्वारी घोषणा गर्दै सिंहले अवधारणापत्र समेत सार्वजनिक गरेका छन्।

नेता शेखर कोइरालाले पनि सभापतिमा उम्मेद्वारी दर्ता गरेका छन्। उनले प्यानलसहित उम्मेद्वारी दर्ता गरेका छन्। कोइरालाको प्यानलमा कोइराला सभापति, उपसभापतिमा धनराज गुरूङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको नाम टुंगो लागेको छ। त्यस्तै सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ।

विमलेन्द्र निधीले पनि सभापति पदमा उम्मेद्वारी दिएका छन्। निधिको प्यानलबाट उपसभापतिमा दिवेश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेद्वारी दर्ता गरेका छन् । शाह र कार्की यसअघि देउवाकै विश्वासपात्र थिए। अहिले भने उनीहरुले देउवा समूहबाट बाहिरिएर उनीसँगै प्रतिस्पर्धामा उत्रिएका हुन् । निधिले शुक्रबार रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न प्रस्ताव गरेका थिए।
यस्तै कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापति पदमा उम्मेद्वारी दिएका छन्। उनीहरुले एकल रुपमा उम्मेद्वारी दिएका हुन् ।

रामचन्द्र पौडेलको सन्यास
सभापतिको दाबेदार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने एकाएक उम्मेद्वारी नदिने घोषणा गरेका छन्। महाधिवेशन नजिकिँदै गर्दा शनिबार मनोनयन दर्ताको दिन भने नेता पौडेलले सभापतिमा नउठ्ने घोषणा गरेका हुन्। 

शनिबार विज्ञप्ति जारी गर्दै नेता पौडेलले नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताएका हुन्। 'पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु। पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो होइन’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ। म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु।’

१४ औं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै प्रजातन्त्रका मूल्य, मान्यता र आदेश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा पुगेको नेता पौडेलले बताएका छन्। एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरूद्ध भने लडिनै रहने प्रतिवद्धता पौडेलले व्यक्त गरेका छन्।

बेलुकी ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएका कारण कांग्रेसका तीनवटै समूहले ढिलोगरी उम्मेद्वारी दर्ता गराएका हुन् । कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य पदमा १३४ जना निर्वाचित हुने व्यवस्था छ। नेताहरुले प्यानल बनाउन ढिलाइ गर्दा उम्मेद्वारको मनोनयन ढिलोगरी दर्ता भएको हो। 

उम्मेद्वारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ  ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ। राति १२ बजेसम्म उम्मेद्वारहरूको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ।

Skip This
Skip This
Logo