नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा ६ जना नेताहरुले सभापति पदमा उम्मेद्वारी दर्ता गराएका छन्। शेरबहादुर देउवा, शेखर काेइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापति पदमा उम्मेद्वारी दिएका छन्।
खासगरी शेरबहादुर देउवा र शेखर कोइरालाले पुरै प्यानल नै निर्माण गरेर चुनावी मैदानमा उत्रिएका छन् भने प्रकाशमान सिंह र बिमलेन्द्र निधिले केही नेताहरुलाई साथमा लिएर उम्मेद्वारी दिएका छन्। कल्याण गुरुङ र युवराज न्यौपानेले भने एकल रुपमा उम्मेद्वारी दिएका छन् ।
सत्तारुढ दल त्यसमाथि गएको निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसको अबको नेतृत्व कस्तो बन्ला भन्ने सबैको चासोको विषय बनेको छ। शुक्रबार शुरु भएको महाधिवेशनको दोस्रो दिन शनिबार दिनभर उम्मेद्वार बन्ने नेताहरुको रस्साकस्सीबीच मनोनयन दर्ता गर्ने समय सकिनै लाग्दा ६ जना सभापतिका उम्मेद्वारसहित विभिन्न नेताहरुले उम्मेद्वारी दिएका छन्।
कांग्रेसको आगामी नेतृत्वका लागि परेको मनोनयनको अवस्था हेर्ने हो भने कांग्रेसभित्रका निकै सम्भावना बोकेका थुप्रै नेताहरु यो निर्वाचनबाट बाहिरिने देखिन्छ। संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचमै कुरा नमिल्दा नेताहरुले गुटभन्दा बाहिर गएर उम्मेद्वारी दिएका छन् । कति नेताले भने एकल रुपमै भएपनि केही नेतालाई मात्र लिएर दर्ता गराएका छन् । केही इतिहास बोकेका, सम्भावना बोकेका र राम्रो सामाजिक छबी बनाएका नेताहरु पनि यो निर्वाचनबाट बाहिरिने सम्भावना देखिएको छ।
जसले उम्मेद्वारी नै दिएनन्
शेरबहादुर देउवासँग निर्वाचन लड्ने तयारी गरेका संस्थापनइतर पक्षबाट सभापतिका बलिया दाबेदार रामचन्द्र पौडेलले आफ्नो समूहमा कुरा नमिल्दै सक्रिय राजनीतिबाट विदा लिने भन्दै उम्मेद्वारी नै दिएनन्। पत्रकार सम्मेलन गरी उम्मेद्वारी नदिने घोषणा गर्दै गर्दा पौडेल भावुक बनेको कुरा अहिले चर्चाको विषय नै बनेको छ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि यो निर्वाचनमा कुनैपनि पदमा उम्मेद्वारी दिएका छैनन्। यद्यपी नेता सिटौलाले सभापतिमा शेरबहादुर देउवा नेतृत्वको प्यानललाई समर्थन गरेका छन्।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत कुनैपनि पदमा मनोनयन दर्ता गराएका छैनन्।
उपसभापति पदमा दावी गरिरहेका नेता खड्काले देउवा टिमबाट उपसभापति पदमा उम्मेद्वार बन्न नपाएपछि चुनावी प्रक्रियाबाट नै अलग भएका छन्। उनले कुनैपनि पदमा उम्मेद्वारी दिएका छैनन्। यद्यपि खड्का सभापतिका उम्मेद्वार देउवासँगै सभागृहस्थल पुगेका थिए । १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट निर्वाचित भएका खड्का त्यसपछि भने देउवा समूहतिर लागेका थिए।
त्यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ, नेताहरु प्रदीप गिरी र नरहरी आचार्यले पनि केन्द्रीय समितिका कुनैपनि पदमा उम्मेद्वारी दिएका छैनन्।
जसको हार निश्चित छ
पार्टीभित्रको अस्वस्थ राजनीति र गुटगत खिचातानीका कारण उम्मेद्वारी नै नदिएका नेताहरु त स्वतः बाहिरिने नै छन्। सँगै उम्मेद्वार बनेका अधिकांश नेताहरु पनि कांग्रेसको राजनीतिबाट बाहिरिने देखिन्छ।
सभापतिका उम्मेद्वार शेरबहादुर देउवा र शेखर कोइराला दुवैले प्यानलै निर्माण गरेर चुनावी मैदानमा उत्रिएका छन्। तुलनात्मक रुपमा चुनावी मैदानमा यी दुई टिमबीचमा प्रतिस्पर्धा हुने देखिन्छ। तर बाँकी सभापतिका उम्मेद्वारहरु प्रकाशमान सिंह र बिमलेन्द्र निधि भने २/३ जना नेतालाई मात्र साथमा लिएर निर्वाचनमा होमिएका कारण उनीहरुले भने निर्वाचनमा जित्न सक्ने सम्भावना न्यून देखिन्छ।
प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेद्वार बनेका विश्वप्रकाश शर्मा, उपसभापतिको उम्मेद्वार बनेका सुजाता कोइरालासमेत रिङबाट बाहिरिने सम्भावना छ। त्यस्तै विमलेन्द्र निधिको टिमबाट उम्मेद्वारी दिएका उपसभापतिमा दिवेश्वरी शाह र महामन्त्रीमा राजाराम कार्की पनि स्वतः बाहिरिने देखिन्छन्।
देउवाले उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई राखेर प्यानल बनाएका छन् भने महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेद्वार बनाएर मैदानमा उत्रिएका छन् । त्यस्तै शेखर कोइरालाले उपसभापतिमा धनराज गुरूङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापालाई उम्मेद्वार बनाएका छन्।
यी दुई देउवा र कोइराला समूहबीच प्रतिस्पर्धा हुँदा बाँकी सिंह र कार्की समूह त पराजित हुन्छ नै, सँगै यो टिममध्ये अर्को एउटा टिम स्वतः बाहिरिनेछ। दुबै टिममा रहेका उम्मेद्वारहरुको नामावली अध्ययन गर्दा कांग्रेस पार्टीको राजनीतिमा निकै सम्भावना बोकेका तथा उत्कृष्ट छबी निर्माण गरेका नेताहरु बाहिरिने देखिन्छ।































प्रतिक्रिया