प्रदेश नं २ को प्रदेशसभा बैठक आज बस्दै

प्रदेश नं २ को प्रदेशसभा बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

लामो समयपछि प्रदेश नं २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान गरिएको छ। प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन बुधबार बिहान ११ बजेको लागि आह्वान गरेका हुन्। 

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौँमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ। प्रदेशसभाको आठौँ अधिवेशनबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ।

Logo