शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ। बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो। 

५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो। शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ।

थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए। संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए। ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो। उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परीक्षण हुँदा अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए।  

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्रबारसम्म जिल्लामा ११ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन्। जिल्लामा कोरोना संक्रमण घटेर सक्रिय संक्रमितको संख्या तीन जनामा झरेको थियो। यो साता फेरि संक्रमित बढेका छन्।

दोस्रो लहरको कोरोना सुरू भएपछि वैशाख यता मात्र जिल्लामा पाँच हजार ३६२ जनालाई कोरोना पुष्टि भएको छ। पाँच हजार २२२ जना निको भएको तथ्याङ्क छ। १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

जिल्लाका ६५ हजार ८३८ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए। उनका अनुसार २० हजार ३७८ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन्।

Skip This
Skip This
Logo