‘एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने’

‘एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने जनाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाएका हुन्।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धारणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो। अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुँदैन,’ केसीले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन्।’ 

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने उनको चेतावनी छ। अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिएका छन्। 

‘एमसीसीका प्रतिनिधिले त मलाई भेटेका छैनन्, तर एमसीसीको नेपाली दलालहरू भने म भएको ठाउँमा आउँछन्, कतिपय त बुद्धिजीवीहरू नै लागेको देख्दा अचम्म लाग्छ,’ केसीले भने, ‘फकाउने र दबाब दिने दुवै काम गरे पनि म भने डग्मगाएको छैन, हामी विरोधमा नै छौँ ।’ 

केसी निवासमा एमसीसीको प्रतिनिधि बनेर को को नेपाली बुद्धिजीवी आएका थिए ? त्यो भने उनले खुलाउन अझै चाहेनन्। यति मात्र भने, ‘तिनलाई चिन्ने मौका पाइएको छ, समय आएपछि भनौंला।’ 

उनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदबाट पारित हुने अवस्था छैन।

Logo