सरकारले एमसीसी संसदमा पेस गर्ने संकेत गरेपछि सर्वदलीय बैठकमा विरोध

सरकारले एमसीसी संसदमा पेस गर्ने संकेत गरेपछि सर्वदलीय बैठकमा विरोध

केन्द्रबिन्दु
0
Shares

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने संकेत गरेपछि सत्ता गठबन्धनका नेताहरुले नै विरोध गरेका हुन्। 

बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार सरकारी पक्षबाट एमसीसी पास गर्ने संकेत मिलेपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसालले विरोध जनाएका थिए। माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संशोधनपछि मात्रै पारित गर्नुपर्ने बताएका थिए।

एमसीसीका विषयमा प्रधानमन्त्री देउवाले धारणा राख्न आग्रह गर्दा आफूले विभिन्न धाराहरुका सन्दर्भ उल्लेख गरेर त्यसलाई राष्ट्रघाती भएको बताएको सुवालले बैठकपछि जानकारी दिए। 

सुवालका अनुसार एमसीसीबारे राष्ट्रिय जनमोर्चाले पनि विरोध गरेकाे थियाे। 

तर जसपा र कांग्रेस भने एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको उनले बताए। तर, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संशोधन गरेर पास गर्नुपर्ने बताएका थिए।

यता सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने एमसीसीका बारेमा थप छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको बताए। एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा दलहरुले विचार राखेको उनको भनाइ थियो।

Skip This
Skip This
Logo