काठमाडौं ।
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेछ । दुई दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।
मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनु पर्ने उनले बताए। कार्यकारी निर्देशक डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए ।
अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।





























प्रतिक्रिया