पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन्। उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने बताए।

नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताए। विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे ।  

महामन्त्रीमा निवार्चित भएपछि काठमाडाैं उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे। 

कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाइन्। उनले जनताको बलिदानीबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने स्पष्ट पारिन्। 

कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गरेको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए। 

एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिकामा नेकपा (एमाले)बाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४७५ जना कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरुलाई कांग्रेस महामन्त्री थापाले पार्टी प्रवेश गरेकामा स्वागत गरेका थिए। गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत थिइन्।

Skip This
Skip This
Logo