डिजिटल कारोबारमा संकुचन आउने संकेत

डिजिटल कारोबारमा संकुचन आउने संकेत

केन्द्रबिन्दु
0
Shares

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ। गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ। साथै, कारोबार संख्यामा पनि कमी आएको छ।

कोरोना महामारीका कारण पछिल्लो समय नेपालमा अनलाइन भुक्तानीको प्रचलन ह्वात्तै बढेको थियो । तर, कात्तिकमा एकाएक यसमा संकुचन आएको छ। कोरोना त्रास कायमै रहेको बेला अनलाइन माध्यमबाट हुने भुक्तानी घट्नुलाई महत्त्वका साथ हेरिएको छ।

गत आवको समीक्षा अवधिको तुलनामा अनलाइन भुक्तानी बढी नै छ। तर, चालू आवको मासिक तथ्यांकको आधारमा कात्तिकमा अनलाइन भुक्तानीमा संकुचन आएको हो। तथ्यांकअनुसार गत असोजमा मोबाइल बैंकिङमार्फत ८७ अर्ब ७३ करोड कारोबार भएको थियो। कात्तिकमा त्यो ७८ अर्ब १५ करोड रुपैयाँमा झरेको छ।

कनेक्ट आईपीएसमार्फत असोजमा रू. २ खर्ब ३९ अर्ब १४ करोड कारोबार भएको थियो । तर, कात्तिकमा त्यो रू २ खर्ब ३ अर्ब ३ करोडमा सीमित भएको छ। यसैगरी गत असोजमा १४ अर्ब ४२ करोड रुपैयाँ रहेको वालेट कारोबार भएकाेमा कात्तिकमा १३ अर्ब ९४ करोडमा झरेको छ। यस्तै, कात्तिकमा क्यूआर बेस पेमेन्ट, इन्टरनेट बैंकिङ, आईपीएसलगायत अनलाइन भुक्तानी माध्यमबाट भएका कारोबार पनि कम छ।  

वालेटमार्फत गत असोजमा १ करोड ३५ लाख ६५ हजार वटा कारोबार भएको थियो । तर, कात्तिकमा त्यो १ करोड ३० लाख ३० हजारमा झरेको छ।

यस्तै, मोबाइल बैंकिङबाट असोजमा १ करोड ३७ लाख ६४ हजारवटा कारोबार आएको थियो। तर, कात्तिकमा १ करोड २६ लाख १५ हजारमा सीमित भएको तथ्यांकले देखाएको छ। डिजिटल भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार संख्यामा कमी आएको राष्ट्र बैंकको भनाइ छ । अनलाइन भुक्तानीका लागि डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपीएसलाई प्रमुख माध्यमको रूपमा लिइन्छ। तर, कात्तिकमा यीनै माध्यमबाट हुने कारोबारमा कमी आएको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ। साथै, मङ्सिरमा पनि डिजिटल कारोबारमा कमी आएको हुन सक्ने बताइएको छ। तर, यस सम्बन्धमा यकिन तथ्यांक तयार नभएको राष्ट्र बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अनलाइन भुक्तानीमा केही कमी आएको बताए। तर, अनलाइन भुक्तानीमा कमी आउनुको कारण सम्बन्धमा आवश्यक अनुसन्धान भइनसकेको उनको भनाइ छ ।अभियान दैनिकबाट

Skip This
Skip This
Logo