दर्शन गुरुङको दुई गोलमा एनआरटीको सहज जित

दर्शन गुरुङको दुई गोलमा एनआरटीको सहज जित

केन्द्रबिन्दु
0
Shares

युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोल प्रेरित न्युरोड टिम एनआरटीले सोमबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नवौँ चरणको अन्तिम खेलमा जितसहित एनआरटीले मध्यसिजनको सुखद अन्त्य गरेको छ।

६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमा एनआरटीले पहिलो अग्रता लिएको थियो।

७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए । अन्य समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। 

८५औं मिनेटमा जावलाखेलका मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो।

जावलाखेलमाथिको जितपछि एनआरटी नौ खेलमा १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एनआटरीले आठौ चरणमा आर्मीलाई २-० को नतिजा सुम्पिएको थियो।

नौ खेलको समाप्तीमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा यथावत छ। पछिल्लो खेलमा जावलाखेल एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यससँगै लिगको नवौं चरणको खेल समाप्त भएको छ। अब लिगमा अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । नेपालले १५-१८ माघमा मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

Skip This
Skip This
Logo