पछिल्लो ९ दिनमा नेपालमा ४२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो ९ दिनमा ४२,१९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका छन्। दैनिक सङ्क्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ।
गत हप्ता साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा
संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। साेमबार थपिनेकाे संख्या ६,७३४ रहेकाे छ भने मंगलबार (आज) १० हजार २५८ जना थपिएका छन्।
यस एक हप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ। पुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ। पुस २८ गते कूल परीक्षण गराएका मध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने आज ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।
यसबीचमा निकाे हुनेकाे संख्या नगन्य छ भने मृत्यु हुनेकाे संख्या पनि कम नै रहेकाे छ।
काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै
काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५ हजार ५ सय ४९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर कूल परीक्षणको ४४.९ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।
हाल काठमाडौंमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कूल २४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।
यस्तै आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ। कोरोना महामारी सुरु भएयता एक दिनमै संक्रमण भएको यो संख्या सबैभन्दा धेरै हो । आज २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा कूल ९ लाख ७२ हजार १९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।































प्रतिक्रिया