काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ?, के भन्छ प्रशासन?

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ?, के भन्छ प्रशासन?

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको बताएको छ। 

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नुपरेको बताए। 

सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनको भनाइ छ।

सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारे। यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए। सवारी साधनको चापका कारण भीडभाड न्यूनिकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए। सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे । 

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ । आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भूमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे।

Logo