काठमाडौं ।
मुलुकभर बाढी/पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता विपद्जन्य घटनाबाट ३७४ जनाको मृत्यु, १०१ जना वेपत्ता र ४२१ जना घाइते भएका छन् । यसवर्ष पहिरोले बढी क्षति भएको छ । अकल्पनीय रुपमा माथिबाट भेल पहिरो आएर गाउँनै सोहोरेर लगेका घटना यसपाली पटकपटक दोहोरियो । बाग्लुङ, बझाङ, पर्वत र सिन्धुपाल्चोक लगायत जिल्लामा त्यस खालका घटना हुन पुगेका हुन् ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा विपद्जन्य घटना र त्यसलाई रोक्न सरकारले गरेको प्रयासबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले भने, “सोच्दै नसोचेको स्थानमा पहिरो गएर ठूलो मानवीय क्षति बेहोर्नु परेको छ, सम्बन्धित विज्ञसमेत अनुमान लगाउन सक्ने अवस्थामा छैनन्, घटनाको अध्ययन भइरहेको छ ।” समितिमा आज तेस्रो पटक विपद्का विषयमा छलफल भएको हो ।
यसपाली विपदजन्य घटनाबाट सिन्धुपाल्चोक बढी प्रभावित भएको छ । मानवीय क्षति पनि सिन्धुपाल्चोकमा नै बढी छ । यसपाली वार्षिक औषत भन्दा यो समयमा २४० प्रतिशत बढी पानी परेको छ । पानी पनि कुनै एउटा क्षेत्र विशेषमा २०० मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । विज्ञका अनुसार १०० मिलिमिटर भन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ ।
मन्त्री थापाले सिन्धुपाल्चोक, पर्वत लगायत जिल्लामा सम्भावना नै नदेखिएको स्थानमा पहिरो खसेको बताए। यस्तै घटन म्याग्दी, बाग्लुङ, बझाङ, बाजुरा, कालिकोटमा घटेको छ । यसवर्ष सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । पहिरोमा परेर आजसम्म २७१ को मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन् । बाढीबाट ३९ को मृत्यु भएको तथा चट्याङबाट ६४ जनाको मृत्यु र २०३ जना घाइते भएका छन् ।
समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले घटनाको उद्धार र राहतका कार्यक्रमलाई सँगसँगै लगिएको जानकारी दिए । सांसदले विगतमा जोखिमयुक्त भनिएका वस्ती स्थानान्तरण नहुँदा क्षति बढी भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान नपुगेको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा मन्त्री थापाले कतिपय वस्ती स्थानान्तरण गरिएको र कतिपय स्थानीयले नै स्थानान्तरण गर्न नमानेको जानकारी गराए। “सिन्धुपाल्चोकका जुगलस्थित लिदी जोखिमयुक्त वस्ती भनेर पहिचान गरेर अस्थायी आवासस्थल बनाइएको थियो, रातभर अस्थायी आवासमा बसेर, पहिरो नआउने पक्का गरेपछि विहान घर पुग्दा त्यहाँ दुखद घटना भएको छ”, उनले भने ।
सरकाले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्ने र पुर्व तयारीका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने सांसदको सुझावप्रति गृह मन्त्रालय गम्भीर रहेको र आगामी दिनमा अझै प्रभावकारी बनाउने विश्वास दिलाए । उनले विना मापदण्ड जथाभावी डोजर चलाउनु विपदको एउटा कारण भए पनि त्यो मात्रै कारणले अहिलेको घटना नघटेको बताए । उनले विपद व्यवस्थापनसँगै हत्या, हिंसा, बलात्कार, आपराधिक घटना नियन्त्रणमा सरकार गम्भिर रहेको र सबै घटनाको आवश्यक अनुसन्धान गरी कानुनी कारवाही अघि बढाइएको जानकारी दिए ।
बैठकमा सांसदहरु झपडबहादुर रावल, कृष्णगोपाल श्रेष्ठ, रेखा शर्मा, यसोदा सुवेदी, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, रामसहाय प्रसाद यादव लगायतले आपराधिक क्रियाकलाप र विपद्जन्य घटना रोक्न प्रभावकारीकदम चाल्न सुझाव दिए। बैठकमा सहभागी राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यावस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले सरकार पूर्वयोजनाका साथ क्षति न्यूनिकरण गर्नेतर्फ गम्भिरताका साथ अघि बढ्को जानकारी दिए। उनले यो पटकको मनसुनजन्य विपदको ९९ औँ दिनमा विगतका तुलनामा धेरै पानी परेकाले विपदजन्य घटना बढेको र विभिन्न क्षेत्रमा हाँडीबाट घोप्टिएको जसरी एकैठाउँमा ठुलो पानी पर्दा क्षति बढी भएको बताए ।
खोला र पहिरोको डोब हेर्दा, माथि देखिनै सोहोरिएर आएको पाइन्छ, २० देखि ६० फिटसम्म खोला थुनिएर त्यो खुल्दा तल्लो तटिय क्षेत्रमा कल्पना नै नगरिएको घटना भएको छ”, उनले भने, “बाग्लुङको कुरा गर्ने हो भने डेढ घण्टामा सात गाउँ साप भएको छ, झोलुङगे पुल मात्रै १७ वटा बगाएको छ ।” उनका अनुसार घटनाको विष्लेषण गर्दा जोखिमको अध्ययन गरेर वस्ती कसरी बनाउने, कहाँ बनाउने भनेर स्थानीय तहले नै योजना निर्माण जरुरी छ ।रासस





























प्रतिक्रिया