कृषि उत्पादनहरुलाई सहकारीमार्फत बजारीकरण गर्न सरकारसँग लभिङ हुँदै

कृषि उत्पादनहरुलाई सहकारीमार्फत बजारीकरण गर्न सरकारसँग लभिङ हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले कृषि उपजलाई बजारसम्म पुर्याउन सरकारसँग लभिङ गरिरहेको बताए ।

कृषिकहरुले उत्पादन गरेका कृषि उपज गाउँमै कुहिन अवस्था भएकाले सहकारीको माध्यमबाट बजारमा पुर्याउन सरकारसँग लभिङ गरिरहेको बताएका हन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले यस्तो बताएका हुन् । मुलुकभरी संचालनमा रहेका कृषिसँग सम्बन्धीत सहकारी संस्थाहरुले विभिन्न गाउँ ठाउँका कृषि उपजलाई बजारसम्म पुर्याउने काम गरिरहेको उनले बताए । तर कतिपय स्थानमा बारीमा तरकारी कुहिने अवस्था भएको, जसका कारण किसानहरु नै पेशाबाट पलायन हुने खतरा बढेको भन्दै सरकार, नीजि क्षेत्र र सहकारीको समन्वय अपरिहार्य भएको अध्यक्ष कँडेलको भनाइ थियो ।

अन्य मुलुकहरुमा पनि कृषि उपजलाई बजारिकरण गर्न सरकारले व्यवस्था मिलाएको भन्दै नेपालको सन्दर्भमा पनि आफूहरुले सरकारका उच्च तहसँग पहल गरिरहेको उनले बताए । लकडाउनका बेला पनि सहकारी संस्थाहरुले गाउँबाट तरकारी सस्तो मूल्यमा बजारसम्म लैजाने काम गरेको उनको भनाइ छ । महानगरले तरकारी बेच्ने विभिन्न ठाउँ तोकेकाले ती ठाउँहरुमा तरकारी लिएर बेच्ने काम समेत गरेको उनले बताए । सहकारी संस्थाहरुले तरकारी बेच्न थालेपछि मूल्य समेत नियन्त्रण भएको उनले बताए ।

अब सहकारी क्षेत्र आफैंले पनि उत्पादनका लागि पूँजी परिचालन गर्नुपर्नेमा अध्यक्ष कँडेलको जोड छ । पछिल्लो समय सरकारका उच्च व्यक्तित्वहरुले सहकारीको पूँजी कृषि उत्पादनमा जानु पर्नेमा जोड दिएका छन् । कृषि उत्पादनमा सहकारीले अत्यन्तै ठूलो भूमिका खेलेको भन्दै दुर दराजका निम्न वर्गका किसानको जीवनस्तरमाथि उठाउन सहयोग गरेको उनले बताए ।

सहकारी क्षेत्रको पूँजी कृषि क्षेत्रमा परिचालन गर्ने क्रम पछिल्लो समय बढेको भन्दै किसानको जीवनस्तर उकास्ने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ थियो । अहिले कृषि क्षेत्रसँग सम्बन्धीत १ हजार ५० भन्दा बढी सहकारी संस्थाहरुले १० लाख भन्दा बढी घरपरिवारहरुको जीवनस्तर बदल्न महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारी संस्थाहरुले सरकारले राउटेहरुलाई समेत स्थायी बसोबासको व्यवस्था गरेको बताए । जुन काम सरकारले पनि गर्न सकेको थिएन । त्यसका साथै उनीहरुलाई बचत गर्न सिकाउने , छोराछोरीलाई स्कुल पठाउने वातावरण तयार गर्नेसम्मका काम सहकारी संस्थाहरुले गरेको अध्यक्ष कँडेलले बताए ।

Logo