नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताए।
उनका अनुसार गत पुस २३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरि उनको उपचार हुँदै आएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनको आज बिहान मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४७ जना पुगेको छ।
बाँकेमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको पुस २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन्।
लक्षित समूहका बालबालिकालाई खोप लगाउन आज र भोलि दुई दिन विद्यालय खोलिएको छ। अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा भोलिसम्म कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रम छ। करिब २४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने छ।































प्रतिक्रिया