राष्ट्र बैंकले सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो। 
    
राष्ट्र बैंकले आज सूचना जारी गर्दै कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा तीन करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा एक करोड पाँच लाख गरि जम्मा २१ करोड आगामी फागुन ४ गतेदेखि २०७९ फागुन ४ सम्मका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।
    
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप लिन चाहेको रकम र त्यसमा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरि माघ २३ गतेसम्म बोलकबोल पेश गर्न भनेको छ। बैंकले बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको तथा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने सर्त राखेको छ।

त्यस्तै निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेका, खुद तरल सम्पत्ती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका तथा कर्जा निक्षेप अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले उक्त रकम निक्षेपमा लिन बोलकबोलमा भाग लिनसक्ने राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै निक्षेप लिन बैंक तथा वित्तीय संस्था निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, रियल स्टेट कर्जा बैंकले तोकिएको सीमा भन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, सर्वसाधारणलाई छुट्याइएको शेयर जारी भइसकेको हुनुपर्ने जस्ता सर्त पालना गनुपर्ने बैकद्वारा जारी सूचनामा उल्लेख छ।

Skip This
Skip This
Logo