राष्ट्रिय गौरवका आयोजनामा न्यून खर्च, कुनकाे प्रगति कति?

राष्ट्रिय गौरवका आयोजनामा न्यून खर्च, कुनकाे प्रगति कति?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ। अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्थवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाको खर्च न्यून भएको पाइएको हो। 

सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो । जसअनुसार ती योजनाका लागि ८२ अर्ब २४ करोड बढी बजेट विनियोजन गरिएको थियो। विनियोजित बजेटमध्ये चालु आवको पहिलो ६ महिनामा १६.३९ प्रतिशत मात्र बजेट खर्च भएको हो।

तथ्याङ्कअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ तीन अर्ब ३८ करोड ४६ लाख, पूँजीगततर्फ ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ३८ करोड ४६ लाख गरि ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो। उक्त विनियोजन गरिएको बजेटअन्तर्गत चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालुतर्फ एक अर्ब ३६ करोड ८० लाख, पूँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख र वित्तीय व्यवस्थापनतर्फ ४८ अर्ब ५० लाख गरि १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ।

मन्त्रालयको तथ्याङ्क अनुसार पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा २४.१ प्रतिशत बजेट खर्च भएको छ। सो आयोजनाका लागि आठ अर्ब १३ करोड ३३ लाख बजेट विनियोजन गरिएकोमा ६ महिनाको अवधिमा एक अर्ब ९६ करोड ४६ लाखमात्र बजेट खर्च भएको छ। हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड ४२ लाख बजेट विनियोजन भएकोमा हालसम्म दुई अर्ब ४४ करोड ९९ लाख खर्च भएको छ।

उत्तर दक्षिण लोकमार्गका लागि एक अर्ब ११ करोड १४ लाख बजेट विनियोजन भएकोमा १५ करोड ९० लाख, उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर मालढुङ्गा–राम्दी) परियोजनका लागि दुई अर्ब ४२ करोड ५५ लाख बजेट विनियोजन गरिएकोमा ७७ करोड ७२ लाख र उत्तर दक्षिण लोकमार्गका लागि ५८ करोड ८९ लाख बजेटमध्ये पाँच करोड २६ लाख बजेट खर्च भएको छ।

यस्तैगरि रेल, मेट्रो रेल तथा मनोरेल विकास आयोजनाका लागि ६ अर्ब ५३ करोड २५ लाखमध्ये ९५ करोड ६२ लाख, काठमाडौँ तराई मधेश द्रुतमार्गका लागि आठ अर्ब ९२ करोड ७९ लाखमध्ये एक अर्ब ४० करोड ८४ लाख, गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक आयोजनाका लागि एक अर्ब ६२ करोड १७ लाखमध्ये ८२ करोड ५९ लाख खर्च भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि तीन अर्ब ७२ करोड ८० लाखमध्ये १८ करोड ५० लाख खर्च भएको छ। यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि १३ अर्ब ४१ करोड २९ लाखमध्ये आठ अर्ब ५० करोड खर्च भएको छ। यस्तै पशुपति क्षेत्र विकास कोषका लागि ३५ करोडमध्ये आठ करोड ५१ लाख, बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि सात अर्ब ९९ करोड ५८ लाखमध्ये १८ करोड ६५ लाख खर्च भएको छ। 

Skip This
Skip This
Logo